दिल्लीमा रवि लामिछानेलाई भाजपाको स्वागत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १७:१९

दिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । पाँचदिने भ्रमणका क्रममा उनी आइतबार दिल्ली पुगेपछि भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले विमानस्थलमै स्वागत गरेका हुन् ।

दिल्ली विमानस्थलमा लामिछानेलाई भाजपा महासचिव अरुण सिंह र पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए । रास्वपाका अनुसार उनी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् ।

Advertisement

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, रवि लामिछानेकी पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य पनि सहभागी छन् । रास्वपा प्रवक्ता मनिष झाले सार्वजनिक गरेको जानकारीअनुसार लामिछानेले जेठ १८ गतेदेखि २२ गतेसम्म भारतमा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नयाँदिल्लीमा हुने भेटघाटका क्रममा उनले भाजपा नेतृत्वसँग छलफल गर्नुका साथै भारतस्थित नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ । त्यस क्रममा लामिछानेले धार्मिक तथा सांस्कृतिक महत्वको स्थल अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । भारत भ्रमणसँग सम्बन्धित भेटघाट र कार्यक्रम व्यवस्थापनमा नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.