निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १२:४२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिने भएका छन् ।

एमालेको केन्द्रीय संगठन विभागले आयोजना गर्न लागेको दुई दिने राष्ट्रिय कार्यशालामार्फत ओली सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन् । उक्त कार्यशालामार्फत ओली पुनः सक्रिय हुन लागेका छन् । ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयमा केन्द्रित कार्यशाला यही जेठ २० र २१ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुँदैछ ।

Advertisement

कार्यक्रम जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने एमालेले जनाएको छ । कार्यशालाको उद्घाटन ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।

निर्वाचनपछि ओली सार्वजनिक कार्यक्रममा अनुपस्थित रहँदै आएका बेला उनको सहभागितालाई एमालेभित्र विशेष अर्थका साथ हेरिएको छ । पछिल्लो समय पार्टी संगठनलाई सक्रिय र चलायमान बनाउने रणनीतिअन्तर्गत एमालेले देशव्यापी सदस्यता नवीकरण तथा विस्तार अभियानलाई प्राथमिकतामा राखेको छ । यही अभियानलाई प्रभावकारी बनाउन राष्ट्रिय स्तरको कार्यशाला आयोजना गर्न लागिएको बताइएको छ ।

कार्यशालामा पार्टीका सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरूको सहभागिता रहनेछ । त्यस्तै प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरू पनि सहभागी हुने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

एमालेका अनुसार कार्यशालामा सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन परिचालन, पार्टी संरचनाको सुदृढीकरण र आगामी संगठनात्मक योजनाबारे विस्तृत छलफल तथा अभिमुखीकरण गरिनेछ । पार्टीको आन्तरिक संरचना बलियो बनाउने र संगठनलाई अझ सक्रिय बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको एमालेको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.