प्रधानमन्त्रीको अभिव्यक्तिले सदनमा तरंग, दलहरू आक्रामक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १७:०५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा दिएको विवादित अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा तीव्र राजनीतिक तरंग उत्पन्न भएको छ ।

प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रिय स्वाभिमान, कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्रीले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिपछि संसदमा दलहरू आक्रामक बनेका छन् ।

Advertisement

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको भनाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे । उनले प्रधानमन्त्रीले संसदमा बोलेको विषय व्यक्तिगत अभिव्यक्ति नभई राष्ट्रिय मुद्दासँग जोडिएको विषय भएकाले त्यसलाई हल्का रूपमा लिन नमिल्ने बताए ।

दुलालले प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याउँदै भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहज्यूले नेपालले भारतको सीमा मिचेको छ भनेर बोल्नुभएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो ? यो सम्मानित सदनमार्फत नेपाली जनतालाई स्पष्ट जानकारी दिनुपर्छ ।’ उनले प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील र गम्भीर प्रकृतिको भएकाले उच्चस्तरीय राजनीतिक छलफलमार्फत निकास निकाल्न सभामुखसँग आग्रह गरे ।

साथै, प्रधानमन्त्रीलाई आफ्नो गल्ती सच्याउन रुलिङ गर्न पनि माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको बचाउमा उत्रिएका सांसदहरूप्रति कटाक्ष गर्दै व्यक्ति पूजा र नेता केन्द्रित राजनीतिले राष्ट्रहित कमजोर पार्ने चेतावनी दिइन् ।

उनले प्रतिनिधिसभामा बोल्दै हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछोड्ने अडान लिनेहरू अहिले आफ्नै नेताको बचाउ गर्न देशकै दाबी कमजोर बनाउने प्रमाण खोज्दै हिँडिरहेको आरोप लगाइन् । ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय भएको बताउँदै प्रधानमन्त्री कुनै व्यक्ति मात्र नभई राज्यको संस्था भएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीको हैसियतबाट आएको फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढाउँछ । यसलाई सामान्य विषय भनेर टार्न मिल्दैन । संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीले अत्यन्त सावधानी, जिम्मेवारीबोध र कूटनीतिक परिपक्वतासहित अभिव्यक्ति दिनुपर्छ ।’ उनले केही नेताका समर्थकहरूले आफ्ना नेताको बचाउ गर्न राष्ट्रकै दाबी कमजोर बनाउने शैली अपनाइरहेको आरोप लगाउँदै यस्तो प्रवृत्ति राष्ट्रवाद नभएको स्पष्ट पारिन् ।

‘देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन् । तर, नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो देशकै पक्ष कमजोर बनाउने काम राष्ट्रवाद होइन,’ उनले भनिन् । ओलीले नेता पूजा र व्यक्ति पूजा गर्ने संस्कार लोकतान्त्रिक प्रणालीका लागि खतरनाक हुने चेतावनी दिँदै एकदिन नेताको बचाउ गर्ने क्रममा राष्ट्रको पक्ष नै छोडिएको महसुस हुनसक्ने बताइन् ।

नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै माफी नआएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ । कांग्रेस सांसद अभिषेकप्रताप शाहले प्रधानमन्त्रीले आफ्नो भनाइ तत्काल फिर्ता लिनुपर्ने माग गरे ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक रहेको जिकिर गरे । ‘यदि तयारीबिनै यस्तो अभिव्यक्ति आएको हो भने त्यो चिन्ताजनक छ । यदि सोचेर बोलिएको भए झन् खतरनाक संकेत हो,’ शाहले भने । यो विषय राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धसँग प्रत्यक्ष रूपमा गाँसिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति संसददेखि सबैतिर राजनीतिक आलोचनाको विषय बनेको छ । राष्ट्रिय बहसको विषय नै बनेको छ । दलहरूले प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टीकरण, अभिव्यक्ति फिर्ता र माफीको माग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
रवि लामिछानेले भेटे भारतीय विदेश मन्त्री
विराटनगरमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध अनुसन्धान तालिम
प्रहरी नागरिकको भरोसाको धरोहर बन्नुपर्छ : महानिरीक्षक कार्की
झापामा ९१ ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
मोरङमा म्यानपावर सञ्चालक पक्राउ, रोमानिया पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी
झापामा चर्को गर्मीबीच सडकमै बेहोस भेटिएकी महिलाको मृत्यु
दमककी रमा तिवारीको हत्या आरोपमा प्रेमी पक्राउ
प्रधानमन्त्रीको अभिव्यक्तिले सदनमा तरंग, दलहरू आक्रामक
‘प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अडान कमजोर बनायो’
मलद्वारमा लुकाएर ल्याउँदै गरेको खैरो हिरोइनसहित युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.