
काठमाडौं । करिब दुई दशकपछि नेपाली राजनीतिक नेताले भारतको राजधानी नयाँदिल्लीमा असाधारण स्तरको राजनीतिक सम्मान पाएका छन् ।
यसअघि २०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पाएको विशेष सम्मानसँग अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०का सभापति रवि लामिछानेको भारत भ्रमणलाई तुलना गर्न थालिएको छ । २०६३ जेठ २३ गते भारत भ्रमणमा पुगेका कोइरालालाई स्वागत गर्न तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह स्वयं विमानस्थल पुगेका थिए ।
नेपालका प्रधानमन्त्रीको स्वागतमा भारतीय प्रधानमन्त्री विमानस्थल पुग्नु दुर्लभ घटना मानिएको थियो । त्यसबेला सिंहले कोइरालालाई दक्षिण एसियाकै ठूलो नेताका रूपमा चित्रित गरेका थिए । नेपालमा भएको राजनीतिक परिवर्तन र जनआन्दोलनप्रति भारतको समर्थनका रूपमा त्यो सम्मानलाई हेरिएको थियो ।
कोइरालापछि नेपालका विभिन्न प्रधानमन्त्रीले भारत भ्रमण गरे पनि त्यस्तो स्तरको राजनीतिक सम्मान कसैले पाएनन् । तर, अहिले सरकारी पदमा नरहे पनि रास्वपा सभापति रवि लामिछानेले दिल्लीमा उच्च राजनीतिक महत्त्वसहितको स्वागत पाएका छन् ।
२०८२ भदौ २३ र२४ को जनआन्दोलन र त्यसपछि फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट उदाएको नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपालाई भारतले गम्भीर रूपमा लिन थालेको विश्लेषण भइरहेको छ । विशेष गरेर नेपालको नयाँ शक्तिप्रति भारतको चासो बढिरहेको पाइएको छ ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले समेत भारतले नेपालमा उदाएको नयाँ शक्तिसँग सम्बन्ध विस्तार गर्न खोजेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनलगत्तै रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका थिए । त्यसपछि नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा निमन्त्रणा समेत गरिएको थियो । तर, बालेनले तत्काल भारत भ्रमणमा रुचि नदेखाएपछि रविको भ्रमण अघि बढेको बताइन्छ ।
जेठ १८ गते दिल्ली पुगेका लामिछानेलाई विमानस्थलदेखि नै विशेष महत्वका साथ स्वागत गरिएको थियो । राष्ट्रपति कार्यालयमा हुने औपचारिक ‘गार्ड अफ अनर’बाहेक उनले पाएको व्यवहार प्रधानमन्त्रीस्तरकै जस्तो देखिएको टिप्पणी कूटनीतिक वृत्तमा हुन थालेको छ ।
भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा मंगलबार बाजागाजासहित उनको स्वागत गरिएको थियो । भाजपा अध्यक्ष नितिन नवीनले दोसल्ला ओढाएर स्वागत गरेका थिए । त्यसलगत्तै उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरे । मंगलबार साँझ नै भारतीय गृहमन्त्री अमित शाहसँग समेत लामिछानेको भेट भएको थियो ।
बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रविले एक घण्टाजति छलफल गरेका थिए । भेटपछि मोदीले नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेका थिए । लामिछानेले पनि मोदीसँग करिब एक घण्टा कुराकानी गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
भारत भ्रमणकै क्रममा रविले हिन्दुस्तान टाइम्समा ‘एउटा आकांक्षी नेपाल र उदीयमान भारत कसरी पुनः जोडिन सक्छन्’ शीर्षकको लेख लेखेका थिए । उक्त लेखले भारतमा समेत चर्चा पाएको बताइएको छ ।
रवि भारत भ्रमणमा रहेका बेला नेपालमा भने प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर तीव्र राजनीतिक बहस भइरहेको छ । लिपुलेक–लिम्पियाधुरा विवाद समाधानका लागि बेलायतलाई समेत संलग्न गराउने बालेनको प्रस्तावलाई भारतले स्पष्ट रूपमा अस्वीकार गरिसकेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाल–भारत सीमा समस्यामा तेस्रो देशको भूमिका आवश्यक नरहेको स्पष्ट प्रतिक्रिया दिएका थिए । नेपालमा बालेनको अभिव्यक्तिलाई लिएर संसदका दुवै सदन प्रभावित बनेका छन् ।
नेपालमा नयाँ सरकार गठन भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु गर्ने परम्परा रहँदै आएको छ । यही सन्दर्भमा नयाँ राजनीतिक शक्तिका नेताको दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
मोदी र रविबीच भएको एक घण्टे छलफलमा के–कस्ता विषयमा कुरा भयो भन्ने सार्वजनिक नभए पनि दिल्लीमा लामिछानेले पाएको स्वागत र राजनीतिक सम्मानलाई भने निकै महत्वका साथ हेरिएको छ । पछिल्ला वर्षहरूमा नेपाल–भारत सम्बन्ध ‘रोटी–बेटी’को पारम्परिक सम्बन्धभन्दा अघि बढेर कनेक्टिभिटी, व्यापार, पूर्वाधार र आर्थिक सहकार्यमा केन्द्रित हुँदै गएको छ । नेपाल दैनिक उपभोग्य वस्तुदेखि ऊर्जा र व्यापारसम्म भारतसँग गहिरो रूपमा जोडिएको छ ।
विश्वको चौथो ठूलो आर्थिक शक्ति बन्ने दिशामा अघि बढिरहेको भारतसँगको सम्बन्धलाई नेपालका लागि अवसरका रूपमा हेरिँदै आएको छ । त्यसैले नेपालमा उदाएका नयाँ राजनीतिक शक्तिहरूले भारतसँग कस्तो कूटनीतिक सम्बन्ध बनाउँछन् भन्ने विषयले आगामी राजनीतिक र आर्थिक दिशामा समेत प्रभाव पार्ने विश्लेषण भइरहेको छ ।



















