ट्रम्पलाई रोक्ने प्रस्ताव पारित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार ०७:२३

एजेन्सी । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही अघि बढाउनबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ ।

बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा २१५ र विपक्षमा २०८ मत परेको हो । ट्रम्पको आफ्नै दल रिपब्लिकन पार्टीका चार सांसदले डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरेपछि यो निर्णय सम्भव भएको हो ।

Advertisement

यो प्रस्ताव इरानसँग जारी तनाव र युद्धका नाममा कार्यपालिका (राष्ट्रपति)ले कंग्रेसको स्वीकृति बिना सैन्य कदम चालेको भन्दै त्यसलाई नियन्त्रण गर्ने प्रयासका रूपमा अघि सारिएको हो । पछिल्लो समय युद्ध अधिकार सीमित गर्न गरिएको यो चौथो प्रयास हो । विपक्षी सांसदहरूले राष्ट्रपति ट्रम्पले कंग्रेसको अधिकारलाई बेवास्ता गर्दै सैन्य शक्ति प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।

अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जानेछ । जहाँ रिपब्लिकनहरूको बहुमत छ । सिनेटबाट पारित भए पनि यसले युद्ध पूर्ण रूपमा रोक्ने वा तत्काल प्रभाव पार्ने सम्भावना भने कमजोर रहेको विश्लेषण गरिएको छ । यदि राष्ट्रपति ट्रम्पले यसलाई रोक्ने निर्णय गरेमा उनले भिटो प्रयोग गर्न सक्नेछन् । जसलाई उल्ट्याउन दुवै सदनमा दुईतिहाइ बहुमत आवश्यक पर्छ ।

मतदानका क्रममा रिपब्लिकन सांसद टम ब्यारेट, थोमस मासी, ब्रायन फिट्जप्याट्रिक र टम ब्यारेटसहित केही सांसदहरूले पार्टी लाइनभन्दा बाहिर गएर प्रस्तावको समर्थन गरेका थिए । यसले रिपब्लिकन पार्टीभित्र देखिँदै आएको आन्तरिक मतभेदलाई पनि उजागर गरेको छ ।

डेमोक्र्याट सांसदहरूले यो निर्णयलाई ट्रम्प प्रशासनको ‘अनियन्त्रित र खर्चिलो युद्ध नीति’विरुद्धको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार युद्धका कारण ऊर्जा मूल्य वृद्धि हुनुका साथै कूटनीतिक समाधान झन् जटिल बनेको छ ।

ह्वाइट हाउसले भने इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेको छ । निकट भविष्यमा सम्झौता हुन सक्ने बताइएको छ । ट्रम्पले हालको सैन्य कारबाहीलाई प्रतिरक्षात्मक कदम भन्दै वार्ता र सम्झौताको सम्भावना अझै खुला रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.