
इनरुवा । सुनसरी इनरुवाको एउटा सेकुवा कर्नरमा तास खेलिरहेका १२ जनालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।
तास खेलिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले साँझ ७ः३० बजेतिर इनरुवा नगरपालिका–६ को शीतल सेकुवा कर्नरमा छापा हानेको थियो । प्रहरीले छापा हानेर सेकुवा कर्नरका सञ्चालक इनरुवा–६ का ५९ वर्षीय सुरबहादुर राउतसहित १२ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा इनरुवा–६ का ४७ वर्षीय जुनलक राई, ६० वर्षीय रामप्रसाद चौलागाईं, ४७ का विनोद बोगटी, इनरुवा–८ का ३७ वर्षीय उमेश साह हलुवाई, २९ वर्षीय नजावुल मियाँ, २५ वर्षीय अमिर मियाँ र इनरुवा–९ का २८ वर्षीय ताहिर साफी रहेका छन् । त्यस्तै, सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–२ का २७ वर्षीय फारुक अन्सारी, २२ वर्षीय मफुज अन्सारी, रामधुनी नगरपालिका–९ का ३३ वर्षीय उमेश सदा र कोशी गाउँपालिका–१ का ३४ वर्षीय वैजनाथ यादव पक्राउ परेका छन् ।
प्रहरीले तासको खालबाट एक लाख १ हजार ७ सय ३५ रूपैयाँ र एक बुङ ताससमेत बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















