
तेह्रथुम । अनुमति नलिई सामुदायिक वन क्षेत्रमा यार्सागुम्बा संकलन गरेको आरोपमा चार जना पक्राउ परेका छन् । तेह्रथुमबाट पक्राउ पर्नेमा संखुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठ रहेका छन् ।
तेह्रथुम प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर राजाबाबु ठाकुरका अनुसार म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा ठूलो समूहले अवैध रूपमा यार्सागुम्बा टिपिरहेको सूचनापछि प्रहरी टोली परिचालन गरिएको थियो । घटनास्थल नजिकै मोटरसाइकल राखिएको अवस्थामा उनीहरूलाई यार्सागुम्बासहित नियन्त्रणमा लिइएको ठाकुरले बताए ।
प्रहरीले उनीहरूबाट १३ वटा यार्सागुम्बा र ९ वटा मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालयका अनुसार राजस्व तिरेपछि मात्र यार्सागुम्बा संकलन गर्न पाइने व्यवस्था छ । अनुमति बिना संकलन गरेमा प्रतिकिलो ३१ हजार रुपैयाँका दरले जरिबाना र प्रति थान ३१ रुपैयाँ शुल्क लाग्ने प्रावधान रहेको छ ।



















