
काठमाडौं । पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् ।
उनको भारत भ्रमणको तयारी अघि बढाइएको छ । मन्त्रीको सचिवालयका अनुसार भ्रमणको मिति अझै निश्चित नभए पनि कूटनीतिक तहमा समन्वय भइरहेको र चाँडै टुंगो लाग्ने अपेक्षा गरिएको छ ।
सभापति लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भएको भेटपछि नेपाल–भारत सम्बन्धका विभिन्न विषयलाई प्राथमिकताका आधारमा अघि बढाउने सहमति बनेको बताइएको छ । उक्त भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराका अनुसार दुवै पक्षले ऊर्जा, पूर्वाधार, विमानस्थल तथा सीमा व्यवस्थापनलगायतका विषयमा विस्तृत छलफल गर्न ‘सूची’ बनाएर काम अघि बढाउने धारणा राखेका छन् ।
बोहोराले भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगका अधुरा परियोजना र सहकार्यका विषयलाई उच्च प्राथमिकतामा राख्दै समयसीमा तोकेर काम गर्नुपर्ने सुझाव दिएको दाबी गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरसँगको छलफलमा पनि यिनै विषयहरू उठाइएको बताइएको छ ।
परराष्ट्रमन्त्री खनालको आसन्न भारत भ्रमणमा दुई देशबीचका पुराना सहकार्यका विषय, रोकिएका परियोजना र नयाँ सम्भावित सहकार्यका क्षेत्रहरू मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ । विशेषगरी ऊर्जा उत्पादन, सीमा समस्या समाधान र पूर्वाधार विकासमा केन्द्रित छलफल हुने बताइएको छ ।
सभापति लामिछाने जेठ २२ गते स्वदेश फर्किएलगत्तै मन्त्री खनालको भ्रमणको मिति औपचारिक रूपमा तय गरिने भएको छ ।



















