
काठमाडौं । नेकपा (एमाले)ले पार्टी संगठन विस्तारलाई केन्द्रमा राख्दै प्रत्येक संगठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य थप्ने संकल्प गरेको छ ।
काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय संगठन विभागको कार्यशालाले १० बुँदे संकल्प पारित गर्दै सदस्यता विस्तार अभियानलाई टोल तहसम्म लैजाने निर्णय गरेको हो । कार्यशालाबाट पार्टी सदस्यता नवीकरण अभियानलाई तीव्र बनाउने, युवा पुस्ताको सहभागिता बढाउने, विज्ञान तथा प्रविधिको प्रयोगमार्फत संगठन सुदृढ गर्ने तथा गत निर्वाचनमा एमालेलाई मत दिएका मतदातालाई पार्टी गतिविधिमा सक्रिय बनाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
संकल्पपत्रमा ‘एक संगठित सदस्यले न्यूनतम तीन नयाँ सदस्य तयार गर्ने’ उल्लेख गरिएको छ । एमालेले यसलाई संगठन विस्तारको मुख्य अभियानका रूपमा अघि बढाउने जनाएको छ ।
कार्यशालामा जिल्ला इन्चार्ज, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा पार्टीको वर्तमान संगठनात्मक अवस्थाका बारेमा समीक्षा पनि गरिएको थियो ।
प्रदेशगत समूह बनाएर गरिएको छलफलको निष्कर्ष विभिन्न नेताले प्रस्तुत गरेका थिए । सुदूरपश्चिम समूहको निष्कर्ष कृष्णप्रसाद जैशी, राजधानीको नारायण सिलवाल, गण्डकीको नवराज शर्मा, लुम्बिनीको राधाकृष्ण कँडेल, कर्णालीको गुलाबजंग शाह र मधेश प्रदेशको चन्द्रेश्वर मण्डलले प्रस्तुत गरेका थिए ।
यस्तै, कोशी प्रदेशको प्रतिवेदन धनश्यामा खतिवडा, बागमती प्रदेशको दावा दोर्जी लामा, सम्पर्क समन्वय समितिको अशोक ठकुरी तथा जनसंगठन समूहको निष्कर्ष महाराज गुरुङले कार्यशालामा प्रस्तुत गरेका थिए ।

























