
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा निस्किएका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २४ जेठसम्म भारत भ्रमणमा निस्किएका हुन् ।
उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशको प्राथमिकताबारे संवाद गर्ने बताए । ‘हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं,’ उनले भने,’ अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौं ।’
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।

























