दिल्ली पुगे परराष्ट्रमन्त्री शिशिर खनाल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार १९:०५

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरको औपचारिक निमन्त्रणामा तीन दिने भारत भ्रमणका लागि उनी शुक्रबार दिल्ली प्रस्थान गरेका हुन् ।

मन्त्री खनाललाई नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नर्थ डेस्क (नेपाल–भुटान हेर्ने)का अतिरिक्त सचिव तथा प्रमुख मनु महावरले स्वागत गरेका थिए । भारतीय पक्षले औपचारिक कूटनीतिक प्रोटोकलअनुसार उच्चस्तरीय स्वागत गरेको हो ।

Advertisement

दिल्ली प्रस्थान गर्नुअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खनालले आफ्नो भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत सम्बन्धका विविध पक्षमा केन्द्रित रहेर संवाद गर्नु रहेको बताएका थिए । उनले विशेषगरी आपसी हितका विषयमा स्पष्ट र परिणाममुखी छलफल हुने अपेक्षा व्यक्त गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालको भारत भ्रमण २२ देखि २४ जेठसम्मका लागि तय गरिएको हो । यस अवधिमा उनले भारतीय समकक्षी विदेशमन्त्री डा. एस जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

उक्त भेटवार्तामा नेपाल र भारतबीचका साझा तथा रणनीतिक महत्वका विषयहरूमा विस्तृत छलफल हुने जनाइएको छ । विशेषगरी व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी (सम्पर्क सञ्जाल) तथा दुई देशका नागरिकबीचको सम्बन्ध विस्तारजस्ता विषयहरू बैठकको केन्द्रमा रहने बताइएको छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार भ्रमणलाई नियमित उच्चस्तरीय कूटनीतिक आदानप्रदानको निरन्तरता रूपमा लिइएको छ । नेपाल–भारत सम्बन्ध ऐतिहासिक, भौगोलिक र बहुआयामिक प्रकृतिको भएकाले यस्ता भ्रमणहरूले आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।

नेपाल र भारतबीच पछिल्लो समय विभिन्न क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको सन्दर्भमा भ्रमणलाई महत्त्वपूर्ण कूटनीतिक अवसरका रूपमा हेरिएको छ । सीमा, व्यापार मार्ग, ऊर्जा व्यापार, पूर्वाधार विकास तथा जनस्तरको सम्बन्धलाई अझ व्यवस्थित र विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल २४ जेठमा नेपाल फर्कनेछन् । छोटो तर महत्वपूर्ण मानिएको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.