
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय अभियन्ता दुर्गा प्रसाईंबीच राजनीतिक एकता भएको छ ।
राजसंस्था पुनर्स्थापनाको साझा उद्देश्यसहित उनीहरूबीच शुक्रबार एक कार्यक्रममार्फत औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा हस्ताक्षर भएसँगै दुर्गा प्रसाईंले आफ्नो नेतृत्वमा सञ्चालन हुँदै आएको ‘नागरिक बचाउ महाअभियान’ औपचारिक रूपमा विसर्जन गरिएको घोषणा गरेका छन् । यससँगै प्रसाईं अब नयाँ राजनीतिक संरचनामा सहभागी हुने संकेत पनि देखिएको छ ।
कार्यक्रममा सहभागी नेताहरूका अनुसार नयाँ पार्टी गठनको तयारी पनि अघि बढाइएको छ । तर, पार्टीको नाम, झण्डा तथा वैचारिक संरचना भने तत्काल टुंगो नलाग्ने र त्यसका लागि विज्ञहरूसँग छलफल गरिने बताइएको छ ।
डा. धवलशम्शेर राणाले कार्यक्रममा बोल्दै नयाँ राजनीतिक यात्राको रूपरेखा क्रमशः तयार पारिने बताएका छन् । उनले भने, ‘पार्टीको नाम र झण्डा हामी विज्ञहरूसँग बसेर टुंगो लगाउनेछौँ । मलमास सकिएपछि नयाँ पार्टीको औपचारिक घोषणा हुन्छ ।’
समझदारीपत्रअनुसार दुवै पक्षले राजसंस्था पुनर्स्थापनालाई मुख्य राजनीतिक एजेन्डा बनाउने, संयुक्त रूपमा संगठन विस्तार गर्ने तथा आगामी राजनीतिक गतिविधिहरूलाई एकीकृत ढंगले अघि बढाउने सहमति गरेका छन् । दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियान पछिल्ला वर्षहरूमा विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय रहँदै आएको थियो ।
यस एकतासँगै राजसंस्था पुनर्स्थापनाको मुद्दा पुनः संगठित रूपमा अघि बढ्ने संकेत देखिएको छ । यद्यपि, नयाँ पार्टीको नाम, नेतृत्व संरचना र झण्डा कस्तो हुने भन्ने विषय भने पछि मात्रै औपचारिक रूपमा सार्वजनिक गरिने जनाइएको छ ।
यस्तो छ समझदारीपत्र



























