
काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दुई नेताबीच राजनीतिक दलस्तरको सम्बन्ध र आपसी अन्तर्क्रियालाई अझ प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ ।
यससँगै नेपाल र भारतका नागरिकबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत विचार आदानप्रदान भएको दूतावासले जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेका मन्त्री खनालले यसअघि भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए ।



















