
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर शनिबार काठमाडौंको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरिएको छ ।
श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रिय हितविपरीत र गैरजिम्मेवार अभिव्यक्ति भन्दै खबरदारी सभा आयोजना गरेको हो । पार्टीका नेता कार्यकर्ता तथा समर्थकहरू सहभागी प्रदर्शनमा प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको आशय आउने गरी दिएको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरिएको थियो ।
प्रदर्शनकारीहरूले सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट तथ्यहीन र विवादास्पद अभिव्यक्ति आएको आरोप लगाउँदै सरकारलाई राष्ट्रिय स्वाभिमानप्रति गम्भीर बन्न चेतावनी दिएका थिए । माइतीघरमा आयोजित सभाका क्रममा सहभागीहरूले ‘नेपालको प्रधानमन्त्री हो कि विदेशी दलाल ?’, ‘नेपाली माटोको रक्षा गरौँ’, ‘गैर जिम्मेवारी अभिव्यक्तिको विरोध गरौँ’ लगायत नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरूले नेपालको भूमि, सीमा र राष्ट्रिय अस्मितासँग जोडिएका विषयमा कुनै पनि प्रकारको कमजोरी स्वीकार्य नहुने बताएका छन् । सभालाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी विषय अत्यन्त संवेदनशील भएकाले प्रधानमन्त्रीले संसदजस्तो जिम्मेवार थलोमा बोलेको अभिव्यक्ति गम्भीर रहेको बताए ।
उनले सीमा समस्या हुनु र नेपालले अर्काको भूमि मिच्नु भन्ने विषय फरक–फरक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले वास्तविकता बंग्याउने ढंगले धारणा सार्वजनिक गरेको आरोप लगाए । राईले आफ्नो पार्टीले नेपालको सीमा र राष्ट्रिय हितका विषयमा निरन्तर स्पष्ट अडान राख्दै आएको पनि बताए । उनले सीमाका विषयमा कुनै भ्रम सिर्जना गर्ने वा नेपालको सार्वभौमिकतामाथि प्रश्न उठ्ने खालका अभिव्यक्ति स्वीकार गर्न नसकिने धारणा राखे ।
प्रधानमन्त्री साहको अभिव्यक्तिलाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा बहस चर्किरहेको बेला श्रम संस्कृति पार्टीले सडकबाटै विरोध जनाएको हो । प्रदर्शनका क्रममा सहभागीहरूले सरकारलाई संवेदनशील राष्ट्रिय विषयमा स्पष्ट र जिम्मेवार धारणा सार्वजनिक गर्न आग्रह गरेका छन् ।



















