विराटनगरमा बहुअपांगता बालकमाथि बाबुको क्रूर व्यवहार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार १७:०७
तस्बिर : एआई

विराटनगर । विराटनगर महानगरपालिका–१४ हंसबाहिनी टोलस्थित सुकुम्बासी बस्तीमा बहुअपांगता भएका सात वर्षीय बालकमाथि आफ्नै बाबुले अमानवीय र क्रूर व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

घटनापछि आरोपित बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । घाइते बालकको उपचार भइरहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार ४० वर्षीय दिनेश रामले जन्मजात बहुअपांगता भएका आफ्ना छोरामाथि लामो समयदेखि कुटपिट तथा शारीरिक यातना दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

बालक जन्मिँदै आँखा नदेख्ने, कान नसुन्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन् । शारीरिक हिसाबले पूर्ण रूपमा असक्त रहेका बालकमाथि बाबुले पटकपटक हिंसात्मक व्यवहार गरेको पाइएको प्रहरीको भनाइ छ ।

स्थानीयका अनुसार दिनेश लागुपदार्थ सेवनको कुलतमा फसेका छन् । दिनभर ज्याला मजदुरी गरेर बेलुका घर फर्किएपछि उनले छोरामाथि कुटपिट गर्ने, शरीरमा दाँतले टोक्ने र विभिन्न प्रकारका यातना दिने गरेको स्थानीय बताउँछन् । बालकको छातीसहित शरीरका विभिन्न भागमा चोट र दाँतले टोकेको घाउ देखिएको जनाइएको छ ।

बालककी हजुरआमा देवी रामका अनुसार बालककी आमा केही वर्षअघि अर्कै व्यक्तिसँग विवाह गरेर गइसकेकी छन् । त्यसपछि नातिको हेरचाह उनकै बाबुले गर्दै आएका थिए । तर, बहुअपांगता छोरामाथि नियमित रूपमा हिंसा गर्ने गरेको हजुरआमाको भनाइ छ । ‘नातीलाई दिनहुँजसो कुट्थ्यो, टोकेर घाइते बनाउँथ्यो,’ उनले भनिन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले आरोपित दिनेश रामलाई नियन्त्रणमा लिएको हो । त्यसपछि बालकको उद्धार गरी उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ । आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि बालकलाई पोषण अभावसमेत देखिएकाले न्यूट्रिसन विभागमा राखेर उपचार अघि बढाइएको अस्पतालले जनाएको छ ।

बालअधिकारकर्मीहरूले बहुअपांगता भएका बालबालिकामाथि हुने घरेलु हिंसा अझै लुकेर रहने गरेको भन्दै यस्ता घटनामा राज्य संयन्त्र संवेदनशील हुनुपर्ने बताएका छन् । उनीहरूले असक्त बालबालिकाको संरक्षण र नियमित निगरानीमा स्थानीय तह तथा सरोकारवाला निकाय सक्रिय हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय र राष्ट्रिय अपांग महासंघ कोशी प्रदेशको पहलमा इलाका प्रहरी कार्यालय रानीमा शुक्रबार उजुरी दर्ता गरिएको थियो । उजुरी दर्तापछि बहुअपांगता छोरामाथि क्रूर व्यवहार गर्ने बाबुलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको डीएसपी मिश्रको भनाइ छ । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.