
इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
कोशी गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा १४२ मत प्राप्त गर्दै दाहाल विजयी भएका हुन् । सभापति पदका अन्य उम्मेदवारमध्ये कृष्ण रौनियारले ७४, मोहन निरौलाले ६२ तथा चक्र विष्टले १० मत प्राप्त गरेका थिए ।
अधिवेशनबाट उपसभापतिमा राजेशमान श्रेष्ठ ११७ मतसहित निर्वाचित भए । सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी आएका छन् ।
त्यस्तै, सदस्यहरूमा लक्ष्मी सुवेदी, राजकुमारी मेहता, धर्मवीर आर्य र गोकुल थापा निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन सत्र रास्वपाका सचेतक प्रकाशचन्द्र परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सांसदहरू अशोक चौधरी, लालविक्रम थापा, सृष्टि भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

























