
काठमाडौं । मकवानपुरको सिस्नेरीमा गएको पहिरोमा परी ६ जना उदीयमान खेलाडीले ज्यान गुमाएको घटनाको सत्य तथ्य पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानबिन समिति गठन गरेको छ ।
राखेपले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसूदन बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको हो । समितिका सदस्यहरूमा राखेपको कर्मचारी प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक जना कानुनी अधिकृत रहेका छन् ।
समितिलाई सोमबारदेखि काम सुरु गरी २१ दिनभित्र छानबिन प्रतिवेदन बुझाउने म्यान्डेट दिइएको छ ।
२०८१ असोज १२ गते परेको अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वात्सल्यदेवी माध्यमिक विद्यालयमा रहेको एन्फा सिस्नेरी एकेडेमी नजिकै पहिरो गएको थियो । सोही पहिरोमा परेर एन्फा एकेडेमीमा प्रशिक्षणरत ६ जना किशोर खेलाडीको दुखद निधन भएको थियो ।
घटनामा ज्यान गुमाउने खेलाडीहरूमा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जन रहेका छन् ।
मृतक खेलाडीका अभिभावकहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को चरम लापरबाहीका कारण आफ्ना सन्तानले ज्यान गुमाउनु परेको आरोप लगाउँदै आएका छन् । मौसम खराब हुँदा र पहिरोको जोखिम बढ्दा पनि खेलाडीहरूलाई सुरक्षित स्थानमा नराखिएको उनीहरूको गुनासो छ ।
न्यायको माग गर्दै पीडित परिवारले शिक्षा तथा खेलकुद मन्त्रालयमा छानबिनका लागि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा मन्त्रालयले राखेपलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको थियो । यो समितिले घटनाको प्राविधिक र व्यवस्थापकीय पक्षको सूक्ष्म अध्ययन गरी दोषीमाथि कारबाहीका लागि सिफारिस गर्ने अपेक्षा गरिएको छ ।



















