
काठमाडौं । सरकारका कामकारबाहीलाई नजिकबाट निगरानी गर्ने रणनीतिसहित कांग्रेसले मन्त्रालयगत संयोजकहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदमा थप प्रभावकारी रूपमा भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको हो ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयगत जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन र जनचासोका विषयमा धारणा राखेका थिए । बैठकले मन्त्रिपरिषद्का निर्णयदेखि मन्त्रालयगत कामको नियमित अध्ययन, विश्लेषण र निगरानी गर्ने निर्णय गरेको छ ।
साथै। राष्ट्रिय महत्वका विषयमा पार्टीको धारणा तयार पार्ने, जनताका गुनासा सम्बन्धित निकायसम्म पुर्याउने तथा सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने सहमति पनि भएको छ । कांग्रेसले अब मन्त्रालयगत संयोजकहरूको बैठक हरेक महिना कम्तीमा एकपटक अनिवार्य बस्ने व्यवस्था गरेको छ ।



















