
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) बिहान सर्वदलीय बैठक बस्ने भएको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसदको प्रभावकारिता र समसामयिक राष्ट्रिय मुद्दामाथि साझा धारणा बनाउन बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठक बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बैठकमा सहभागी हुन अनुरोध गरिएको छ । छलफललाई व्यवस्थित र निर्णयमुखी बनाउन प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई आमन्त्रण गरिएको उनले बताए ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच संवाद र सहमति बढाएर राजनीतिक गतिरोध अन्त्य गर्ने तथा राष्ट्रिय मुद्दामा साझा समझदारी कायम गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ ।

























