संसदमा हर्क साम्पाङ : ‘रक्षामन्त्री कहाँ छन्, सुस्ताको विषयमा जवाफ चाहियो’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १२:१७

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ (हर्कराज राई)ले नेपाल–भारत सीमा क्षेत्रमा देखिएको अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै रक्षामन्त्रीलाई संसदमा उपस्थित गराउन माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का अधिकारीहरू र नेपाली नागरिकबीच देखिएको तनावपूर्ण अवस्थाका बारेमा सरकार मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सीमासम्बन्धी विषय राष्ट्रिय संवेदनशीलतासँग जोडिएको विषय भएकाले सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

Advertisement

साम्पाङले प्रधानमन्त्रीले केही समयअघि सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको बताउँदै त्यसको विरोधमा आफूले संसदमा प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसकेको उल्लेख गरे । तर, यति समय बित्दा पनि प्रधानमन्त्री संसदमा उपस्थित नभएको भन्दै उनले प्रश्न उठाए ।

उनले प्रधानमन्त्री अनुपस्थित रहेको अवस्थामा कम्तीमा रक्षामन्त्रीले संसदमा आएर सीमा सुरक्षासम्बन्धी विषयमा जवाफ दिनुपर्ने धारणा राखे । साम्पाङले सभामुखमार्फत रक्षामन्त्रीलाई संसदमा बोलाउन आग्रह गर्दै वर्तमान परिस्थितिबारे सरकारको आधिकारिक धारणा माग गरे ।

उनका अनुसार सुस्ता क्षेत्रमा भारतीय पक्षका सुरक्षा अधिकारीहरूले नेपाली नागरिकमाथि दबाब सिर्जना गरिरहेको र स्थानीय बासिन्दा आफ्नो भूमि जोगाउन संघर्ष गरिरहेको देखिने भिडियोहरू सार्वजनिक भएका छन् । यस्ता घटनाले राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो ।

सांसद साम्पाङले सुस्तामा देखिएको अवस्थाप्रति रक्षा मन्त्रालय र नेपाल सरकार दुवैले गम्भीर चासो लिनुपर्ने बताए । सीमामा भइरहेका गतिविधिबारे संसद र जनतालाई जानकारी गराउँदै नेपाली भूमिको संरक्षणका लागि के कदम चालिएको छ भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने उनको माग थियो ।

‘प्रधानमन्त्री संसदमा आउनुहुन्न भने रक्षामन्त्रीलाई नै खोजेर ल्याउनुपर्छ,’ भन्दै साम्पाङले सीमा क्षेत्रका नागरिकको सुरक्षा र राष्ट्रिय भूभागको संरक्षण सरकारको पहिलो दायित्व भएको उल्लेख गरे । उनले सुस्तालगायत विवादित तथा संवेदनशील सीमा क्षेत्रका समस्यालाई बेवास्ता गर्न नहुने बताउँदै सरकारलाई तत्काल कूटनीतिक तथा प्रशासनिक पहल गर्न आग्रह गरे ।

साथै, सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले भोगिरहेका समस्याका बारेमा संसदलाई जानकारी गराउन र आवश्यक कदम सार्वजनिक गर्न पनि उनले माग गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.