
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रियता जस्तो संवेदनशील विषयमा छलफल भइरहेका बेला प्रधानमन्त्री संसदमा उपस्थित नहुनु जनप्रतिनिधि संस्था र नागरिकप्रतिको बेवास्ता भएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद केसीले राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने दायित्व रहेको उल्लेख गरे । उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को जिम्मेवारी अन्य मन्त्रीमार्फत पूरा गराउने प्रयास संसदप्रतिको सम्मानअनुकूल नहुने धारणा राखे ।
केसीले पछिल्लो समय राज्यका विभिन्न निकायबीचको शक्ति सन्तुलन र नियन्त्रणका स्थापित प्रक्रियाहरू कमजोर बन्दै गएको दाबी गरे । लोकतान्त्रिक प्रणालीमा संस्थागत अभ्यास र विधिसम्मत प्रक्रियाको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उनले अत्यधिक केन्द्रीकरणले अस्थिरता र निरंकुश प्रवृत्तिलाई बढावा दिन सक्ने चेतावनी दिए ।
सांसद केसीले संसदमा प्रश्न उठाउनु सांसदहरूको संवैधानिक र विशेष अधिकार भएको पनि बताए । जनसरोकारका विषयमा प्रश्न उठाउँदा वा सरकारको कामकारबाहीका बारेमा जवाफ माग्दा धम्कीपूर्ण अभिव्यक्ति दिनु संसदीय अभ्यास र मर्यादाविपरीत हुने उनको भनाइ थियो ।
उनले संसदलाई जवाफदेही र प्रभावकारी बनाइराख्न सरकार प्रमुखको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, संसदीय परम्परा र संस्थागत उत्तरदायित्वको संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

























