
काठमाडौं । नेकपा (एमाले)ले संविधान संशोधनका लागि सुझाव संकलन तथा अध्ययन गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठकले संविधान कार्यान्वयनको अनुभवका आधारमा यसका सबल तथा कमजोर पक्ष, कार्यान्वयनका क्रममा देखिएका जटिलता र संशोधन आवश्यकताका बारेमा अध्ययन गरी प्रस्ताव तयार पार्न उपसमिति बनाउने निर्णय गरेको हो । उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्।
उपसमितिले सुझाव संकलनको कार्ययोजना र विस्तृत कार्यतालिका आगामी बैठकमा प्रस्तुत गर्नेछ । यसअघि एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो । कार्यदलले संघीय लोकतान्त्रिक गणतन्त्र तथा विद्यमान संविधानअन्तर्गतको शासन प्रणालीलाई थप प्रभावकारी बनाउन विभिन्न क्षेत्रबाट सुझाव संकलन गरी संशोधन प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।
बैठकले संविधान संशोधनका विषयमा अन्य राजनीतिक दल तथा तिनका कार्यदलसँग संवाद, छलफल र अन्तरक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई दिइएको छ । कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, पासाङ शेर्पालगायत सदस्य रहेका छन् ।

























