कोशी प्रदेशको बजेट ‘परम्परागत र दिशाहीन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार १९:२४

विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट परम्परागत र दिशाहीन रहेकाे प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएका छन् । उनले  बजेटले वर्तमान आर्थिक चुनौतीको सामना गर्न नसक्ने बताए ।

आङ्बोले बजेटले राखेको ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य वर्तमान परिस्थितिमा हासिल हुन नसक्ने दाबी गरे । ‘उहाँहरूले जुन राजस्वको अनुमान गर्नुभएको छ, त्यो उठ्ने देखिँदैन र ५ प्रतिशतको आर्थिक वृद्धि पनि अहिलेको परिस्थितिमा सम्भव छैन,’ आङ्बोले भने ।

Advertisement

बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको र सबै क्षेत्रलाई समेट्न खोज्दा बजेट आफैँ अलमलिएको उनले बताए ।

शिक्षा, स्वास्थ्य र कृषिजस्ता जनताका आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रलाई बजेटले छुन नसकेको प्रतिपक्षी नेताको आरोप छ । उनले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार मिचेर बजेट विनियोजन गरेको समेत बताए । ‘विद्युत उत्पादन र प्रसारण लाइनमा बजेट विनियोजन गर्नु प्रदेशको क्षेत्राधिकार भन्दा बाहिरको विषय हो,’ उनले भने ।

पहाडी क्षेत्रबाट भइरहेको तीव्र बसाइँसराइको समस्या समाधानका लागि बजेटमा कुनै ठोस योजना नआएको आङ्बोको भनाइ छ ।

संघीय सरकारको बजेट जस्तै प्रदेशको बजेटले पनि आम नागरिक र विपन्न वर्ग (भुइँमान्छे)का समस्यालाई सम्बोधन गर्न नसकेको आङ्बोले बताए । उनले भने, ‘बजेटले भुइँमान्छेका मुद्दालाई पूर्णतः उपेक्षा गरेको छ, यसले संघीयता र प्रदेश सरकारमाथि उठिरहेका प्रश्नहरूको उत्तर दिन र नयाँ मार्गचित्र कोर्न सकेन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.