
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा प्राप्त हुन नसकेपछि नेकपा (एमाले) ले देशव्यापी रूपमा सुरु गरेको ‘चुनावी समीक्षा तथा पार्टी पुनर्गठन’ अभियान कोशी प्रदेशमा पनि सुरु भएको छ । प्रदेश राजधानी विराटनगरमा प्रदेशस्तरीय विशेष छलफल सुरु भएको हो ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले कोशी प्रदेशका नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गरिरहेको छ । भेलामा उपाध्यक्ष बादलसहित उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल र सचिवहरू भानुभक्त ढकाल, शेरधन राई एवं हिक्मतकुमार कार्कीको उपस्थिति रहेको छ ।
एमाले कोशी प्रदेश कमिटीको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रममा कोशीका १४ वटै जिल्लाका पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेश सचिवालयका सदस्य र जनवर्गीय संगठनका नेतृत्वको सहभागिता छ ।
निर्वाचनमा देखिएका कमजोरीको पहिचान गर्ने र आगामी दिनमा पार्टीलाई कसरी थप बलियो बनाउने भन्ने विषयमा सघन छलफल हुने एमालेले जनाएको छ ।

























