कोशी अस्पतालको जग्गा खाली गर्न १५ दिने अल्टिमेटम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार १८:२०

विराटनगर । विराटनगरकाे कोशी अस्पतालले आफ्नो जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन र अस्पतालद्वारा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा अस्पतालले अतिक्रमित जग्गा खाली गराउने १५ दिने सूचना जारी गरेकाे हाे ।

अस्पतालको नाममा रहेको ५ बिघा ८ कठ्ठा ९ धुर जग्गामा विभिन्न संस्थाहरूले संरचना बनाएका छन् ।

Advertisement

अस्पतालको जग्गामा नेपाल क्षयरोग निवारण संस्थाले ६ कठ्ठा ८ धुर, देवकोटा पुस्तकालयले २ कठ्ठा १० धुर, गणेश मन्दिरले २ कठ्ठा र नेपाल रेडक्रस सोसाइटीले २ कठ्ठाभन्दा बढी जग्गामा संरचना बनाएका छन् ।

ती संस्थाहरूले अस्पतालको जग्गामा व्यापारिक सटरहरू बनाएर भाडा लगाएका छन् । क्षयरोग निवारण संस्थाले २ लाख, गणेश मन्दिरले १ लाख ६० हजार र रेडक्रसले १ लाख ५० हजार रुपैयाँसम्म मासिक भाडा उठाउने गरेको स्राेत बताउँछ । अस्पतालले जग्गा खाली गर्न सूचना जारी गरेपछि ति संस्था अन्याेलमा परेका छन् ।

कोशी अस्पताल परिसरमा ५०० शैय्याको मेडिकल भवन र २५९ शैय्याको विशिष्टीकृत सेवा भवन निर्माणाधीन छन् । अस्पतालको सेवा विस्तार र आधुनिक पूर्वाधार निर्माणका लागि आफ्नै जग्गा उपभोग गर्नुपर्ने भएकाले ती संरचना हटाउन लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको स्रेस्ता अनुसार उक्त क्षेत्रमा रहेकाे बनसखण्डी मन्दिर र नर्सिङ क्याम्पसको मात्रै आधिकारिक जग्गा देखिएको छ । बाँकी सबै संरचना अवैध छन् । १५ दिनभित्र संरचना खाली नगरे अस्पतालले कानुनी प्रक्रिया मार्फत हटाउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.