
विराटनगर । झापाको बिर्तामोड नगरपालिका–५, अन्नपूर्ण चोकमा एक वृद्धले आफ्नै श्रीमतीलाई फलामको रडले प्रहार गरी घाइते बनाएपछि घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् ।
शुक्रबार बिहान करिब ५:३० बजेको समयमा ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका कारण ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले घोचेर घाइते बनाएका थिए । श्रीमतीलाई आक्रमण गरेलगत्तै उनले आफ्नै तीनतले घरको छतबाट हामफालेका थिए ।
छतबाट हामफाल्दा टाउको, हात र खुट्टामा गम्भीर चोट लागेका घिरेनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्रीमानको प्रहारबाट घाइते भएकी ६५ वर्षीया गंगामुनी राजवंशीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको पेटमा चोट लागेको भए तापनि अवस्था मध्यम रहेको प्रहरीले जनाएकाे छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

























