
मेक्सिको । ड्यानिएल मुनोजको निर्णायक गोलको मद्दतमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को दोस्रो खेलमा डिआर कंगोलाई १–० ले हराउँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
मेक्सिकोको ग्वाडालाहारास्थित मैदानमा भएको खेलमा सुरुआतदेखि नै आक्रामक देखिएको कोलम्बियाले गोलका लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो । ७६औं मिनेटमा जुआन क्वाटेरोको पासमा ड्यानिएल मुनोजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अन्ततः त्यही गोल कोलम्बियालाई लगातार दोस्रो जित दिलाउन पर्याप्त बन्यो ।
लुइस डियाजले त्यसपछि दुईपटक बल जाली चुमाए पनि दुवै प्रयास अफसाइडका कारण गोलका रूपमा मान्य भएनन् । पहिलो हाफमा डिआर कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै बचाउ गरेका थिए ।
खेलभर कोलम्बियाले १९ पटक प्रहार गर्दा नौ सट लक्ष्यमा रहेका थिए । डिआर कंगोले भने आठ प्रहारमध्ये एक मात्र सट लक्ष्यमा राख्न सफल भयो ।
पहिलो खेलमा उज्वेकिस्तानलाई ३–१ ले हराएको कोलम्बियाले लगातार दुई जितसँगै ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको छ । दुई खेलबाट एक अंक मात्र जोडेको डिआर कंगो तेस्रो स्थानमा छ ।
समूह चरणको अन्तिम खेलमा कोलम्बियाले पोर्चुगलसँग खेल्नेछ । पोर्चुगलले उज्वेकिस्तानलाई ५–० ले पराजित गर्दै पहिलो जित निकालेको थियो । पोर्चुगललाई नकआउट चरण पुग्न कोलम्बियाविरुद्ध बराबरी नै पर्याप्त हुनेछ ।
यता डिआर कंगोले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जित हात पारेमा उत्कृष्ट तेस्रो टोलीको रूपमा अघिल्लो चरण पुग्ने सम्भावना उसमा कायम रहनेछ ।



















