विराटनगरमा मिटरब्याजपीडितले गरिन् आत्महत्या, एउटै परिवारका तीन जनामाथि अनुसन्धान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार १९:१०

विराटनगर । विराटनगर महानगरपालिका–१४ महत टोलकी ४२ वर्षीया शान्तिदेवी महतो असार ७ गते बिहान आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परिन् ।

मिटरब्याजको जालोले जेलिएकी उनी त्यही पीडा सहन नसकेर आत्महत्या गर्ने निर्णयमा पुगेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाले मिटरब्याज, न्यायको पहुँच र राज्य संयन्त्रको संवेदनशीलतामाथि प्रश्न उठाएको छ ।

Advertisement

प्रहरी स्रोतका अनुसार छोरीको उपचारका लागि ११ वर्षअघि लिएको १ लाख ५० हजार रुपैयाँ ऋण, त्यसपछि बढ्दै गएको ब्याज, घरजग्गामाथिको विवाद, पटकपटकको धम्की र अन्ततः परिवार उठीबास हुने चिन्ताले थलिएकी शान्तिदेवीले आफ्नै घरमा झुन्डिएर जीवन अन्त्य गरिन् । प्रहरीले घटनालाई संवेदनशील मान्दै एउटै परिवारका तीन जनामाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रहरीमा दर्ता भएको किटानी जाहेरीका आधारमा विराटनगर–१४ का अन्दाजी ५८ वर्षीय नारायण गुप्ता, पत्नी ५६ वर्षीया सुन्दरीदेवी साह (गुप्ता) र छोरा ३५ वर्षीय अमनकुमार गुप्ताविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको हो । प्रहरीले तीनै जनालाई यसअघि नै पक्राउ गरेको थियो ।

बाबु–छोरालाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ भने स्वास्थ्य अवस्थाका कारण सुन्दरीदेवीलाई हाजिरजमानीमा छाडिएको छ । उनीमाथि पनि अनुसन्धान जारी रहेको र अदालतमा अभियोग दर्ता हुने प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध शान्तिदेवीकी छोरी २२ वर्षीया सोनी महतोले इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीमा परिवारमाथि लामो समयदेखि घर खाली गर्न दबाब दिइएको, अदालतमा घर खालीको मुद्दा चलिरहेको अवस्थामा समेत निरन्तर ज्यान मार्ने धम्की दिएको र अन्तिम पटक घरमै आएर तत्काल घर खाली गर्न चेतावनी दिएपछि आमा मानसिक तनावमा पुगेको उल्लेख छ ।

मजदुरी गरेर परिवार चलाउने भोमा महतो र उनकी पत्नी शान्तिदेवीले छोरीहरूको विवाह तथा अन्य पारिवारिक आवश्यकताका लागि ऋण लिएका थिए । त्यसक्रममा उनीहरू बस्दै आएको घरजग्गा साहुको नाममा धितोका रूपमा पास गरिएको थियो । परिवारले सावाँ र ब्याज तिरिसकेको दाबी गरे पनि ऋणदाताले अझै ब्याज बाँकी रहेको भन्दै घर खाली गर्न दबाब दिँदै आएको जाहेरीमा उल्लेख छ ।

सोनीका अनुसार घटनाभन्दा एक दिनअघि अर्थात् २०८३ साल असार ६ गते अपरान्ह करिब ४ बजे नारायण, सुन्दरीदेवी र छोरा अमनकुमार गुप्ता घरमा आएका थिए । घरमा आएर अमनले ‘अहिले नै घर खाली नगरिए मारिदिन्छु’ भन्दै धम्की दिएको, नारायण गुप्ताले डोजर लगाएर घर भत्काइदिने चेतावनी दिएको तथा सुन्दरीदेवीले ‘घर मेरो नाममा भइसकेको छ, मुद्दा जितिसकेको छु, घिसारेर निकाल्छौँ’ भन्दै दबाब दिएको जाहेरीमा उल्लेख छ ।

छिमेकीहरू भेला भएर गरिब परिवारमाथि अन्याय नगर्न आग्रह गरेपछि गुप्ता परिवारका तीन जना ‘आज राति नै तिमीहरूलाई मार्छौं’ भन्दै धम्की दिएर फर्किएको सोनीले बताइन् । घटनापछि सोनीकी आमा (शान्तिदेवी)ले निकै पीडा एवं अपमान महसुस गरेको, राति खाना समेत नखाई रोएर बसेको र ‘अब कहाँ जाने, कसरी बस्ने, घर भत्काउन डोजर आयो भने के गर्ने ?’ भन्दै चिन्ता व्यक्त गरेको सोनीले प्रहरीलाई बताएकी छन् ।

भोलिपल्ट अर्थात् ७ गते बिहान बिहान ७ बजे उठेर हेर्दा आमा घरको अर्को कोठामा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको सोनीले जाहेरीमा उल्लेख गरेकी छन् । छिमेकीहरूलाई बोलाएर प्रहरीलाई खबर गरिएपछि शान्तिदेवीको मृत्यु भइसकेको पुष्टि भएको थियो । घटनापछि बाहिरिएको पृष्ठभूमिले शान्तिदेवी लामो समयदेखि पीडित रहेको देखाउँछ ।

सोनी शान्तिदेवीकी माइली छोरी हुन् । शान्तिदेवी र भोमा महतोका ६ जना छोरीहरु छन् । ११ वर्षअघि सोनीको खुट्टा भाँचिएपछि उपचार खर्च जुटाउन शान्तिदेवीले स्थानीय अम्बिका भनिने अमरिकाकुमारी रायसँग ५ प्रतिशत ब्याजमा १ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ऋणको सुरक्षणका लागि आफ्नो नाममा रहेको कित्ता नम्बर ३४४६ को १० धुर जग्गा रायको नाममा पास गर्नु परेको थियो ।

समयक्रममा उनले ९० हजार रुपैयाँ ब्याज बुझाइसकेको परिवारको दाबी छ । तर, अमरिकाले २०७३ असार १४ गते सोही जग्गा १ लाख ५० हजार रुपैयाँमै सुन्दरी गुप्ताको नाममा बिक्री गरिदिएकी थिइन् । अनि आफ्नो एकमात्र सम्पत्ति गुम्न लागेको थाहा पाएपछि शान्तिदेवीले विभिन्न सहकारी र अन्य स्रोतबाट ऋण खोजेर नारायण गुप्ताको परिवारलाई रकम बुझाउन थालिन् ।

छोरी सोनीका अनुसार परिवारले पटकपटक गरेर ४ लाख ६५ हजार रुपैयाँभन्दा बढी रकम बुझाइसकेको छ । तर, यति रकम तिरिसक्दा पनि जग्गा फिर्ता नभएको र उल्टै अदालतमा मुद्दा हालेर घर खाली गर्न दबाब दिएको उनले बताइन् ।

अन्यायमा परेको भन्दै शान्तिदेवीले २०८० वैशाख ८ गते अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगमा निवेदनसमेत दिएकी थिइन् । तर, उक्त निवेदनमाथि प्रभावकारी सुनुवाइ नभएको पीडित परिवार र मिटरब्याजविरुद्ध आन्दोलनरत अभियन्ताहरूको आरोप छ ।

घटनापछि मृतकका आफन्त र स्थानीयले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका थिए । आन्दोलनका क्रममा मिटरब्याजीमाथि कडा कारबाही हुनुपर्ने, कब्जा भएको जग्गा फिर्ता गर्नुपर्ने र मृतकका छोरीहरूको भविष्य सुनिश्चित गर्न क्षतिपूर्ति दिइनुपर्ने लगायत माग गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङ र पीडित पक्षबीच मंगलबार पाँच बुँदे सहमति भएको छ । घटनाको निष्पक्ष छानबिन गरिने, मृतकका पति भोमा महतोलाई रोजगारीका लागि पहल गरिने, दुई छोरीको माध्यमिक तहसम्मको अध्ययनका लागि छात्रवृत्ति व्यवस्था मिलाइने, उच्च शिक्षाका लागि गृह मन्त्रालयमा सिफारिस गरिने तथा मिटरब्याजसम्बन्धी कानुनी जटिलता समाधानका लागि पहल गरिने सहमति भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान जारी रहेको बताएका छन् । उनका अनुसार पक्राउ परेका नारायण गुप्ता र अमन गुप्तालाई हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ भने सुन्दरीदेवी स्वास्थ्य अवस्थाका कारण हाजिरजमानीमा छुटेकी छन् । तर, उनीमाथि पनि अनुसन्धान जारी रहेको कटवालले बताए ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन अभियानका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले समयमै राज्य संयन्त्रले पीडितको निवेदनमाथि सुनुवाइ गरेको भए शान्तिदेवीको ज्यान जोगिने दाबी गरेका छन् । उनका अनुसार गरिब परिवारले १ लाख ५० हजार रुपैयाँको ऋण तिर्ने क्रममा सावाँभन्दा तीन गुणाभन्दा बढी रकम बुझाउँदा पनि सम्पत्ति फिर्ता नपाउनु र अन्ततः आत्महत्या गर्न बाध्य हुनु राज्यको न्याय प्रणालीकै असफलताको उदाहरण हो ।

‘यदि एउटा विपन्न परिवारले ११ वर्षसम्म ऋण तिर्दै जाँदा पनि घर जोगाउन नसकेर अन्ततः ज्यानै गुमाउनुपर्छ भने मिटरब्याजको पीडा भोगिरहेका अरू कति परिवार अझै यस्तै त्रास र अन्यायबीच बाँचिरहेका होलान् ?’ कुशवाहले प्रश्न गरे । उनले घटनाको प्रभावकारी अनुसन्धान गरेर दोषीलाई कारबाही गरिनुपर्ने बताए ।

प्रशासनले भने शान्तिदेवीसँग सम्बन्धित घर खालीको मुद्दा अदालतमा विचाराधीन रहेकाले मिटरब्याजमा थप कारबाही अघि बढाउन नसकिएको जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.