कतारमाथि बोस्नियाको जित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार ०६:०८

अमेरिका । पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने लक्ष्यमा रहेको बोस्निया–हर्जगोभिनाले समूह ‘बी’को अन्तिम खेलमा कतारलाई ३–१ ले पराजित गर्दै अर्को चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

सिएटलमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा बोस्नियाले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । खेलको प्रारम्भिक तीन मिनेटमै एर्मेडिन डेमिरोभिच र इभान सुन्जिचले गरेका प्रहारलाई कतारी गोलरक्षक महमुद अबुनादाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई सुरुआती झट्काबाट जोगाएका थिए ।

Advertisement

बोस्नियाले २९औँ मिनेटमा अग्रता लियो । १८ वर्षीय केरिम अलाजबेगोभिचले दुई डिफेन्डरलाई छलाउँदै गरेको आकर्षक प्रहार गोलमा परिणत भएपछि बोस्निया १–० ले अघि बढ्यो । त्यसपछि ३४औँ मिनेटमा अनुभवी कप्तान एडिन जेकोको भली प्रहार डिफेन्डर महमुद अबुनदालाई लागेर गोलमा परिणत हुँदा बोस्नियाले अग्रता दोब्बर बनायो । उक्त गोल आत्मघाती गोलका रूपमा दर्ज भयो ।

४० वर्षीय जेकोले आफ्नो १५०औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने बोस्नियाली खेलाडी जेकोले त्यसको केहीबेरपछि अर्को अवसर पनि सिर्जना गरे । तर, उनको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो ।

कतारले भने पहिलो हाफको अन्त्यतिर खेलमा फर्कने संकेत देखाएको थियो । ४३औँ मिनेटमा कप्तान हसन अल–हायडोसले एडमिल्सन जुनियरको क्रसलाई सदुपयोग गर्दै गोल गरेपछि अन्तर २–१ मा झरेको थियो । त्यसलगत्तै अक्रम अफिफको पासमा पेड्रो मिगुएलको प्रहार गोलपोस्टमा लाग्दा कतार बराबरीको निकै नजिक पुगेको थियो ।

दोस्रो हाफमा पनि कतारले अवसरहरू सिर्जना गर्‍यो । अफिफको एक प्रहार साइड नेटमा लाग्दा गोलको सम्भावना टरेको थियो । अन्तिम २० मिनेटका लागि अलमोइज अलीलाई मैदानमा उतारे पनि कतारले अपेक्षित नतिजा निकाल्न सकेन ।

बरु बोस्नियाले ८०औँ मिनेटमा तेस्रो गोल गर्दै जित सुनिश्चित गर्‍यो । वैकल्पिक खेलाडी एर्मिन माहमिकले लगातार दोस्रो खेलमा गोल गर्दै टोलीलाई ३–१ को सहज जित दिलाए ।

यो नतिजासँगै बोस्नियाले चार अंक जोड्यो । यद्यपि, समान अंक रहेको क्यानडासँग ‘हेड टु हेड’मा पछि परेका कारण बोस्निया समूहमा तेस्रो स्थानमा सीमित रह्यो । त्यसैले उसले अन्तिम ३२ मा सिधै स्थान बनाउन नसके पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीहरूमध्ये एकका रूपमा नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

विश्वकप इतिहासमा बोस्नियाको यो दोस्रो जित हो । यसअघि उसले सन् २०१४ मा आफ्नो पहिलो विश्वकप सहभागिताका क्रममा इरानलाई ३–१ ले पराजित गरेको थियो ।

पराजित कतार भने एक अंकसहित समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । बोस्नियाको भविष्य भने अन्य समूहका खेलहरूको नतिजाले तय गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.