भेनेजुएलामा व्यापक क्षति, देशव्यापी संकटकाल घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १०:४२

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला बुधबार साँझ गएको शक्तिशाली ‘डबल भूकम्प’का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

केही सेकेन्डको अन्तरालमा लगातार दुईवटा शक्तिशाली भूकम्प गएपछि व्यापक क्षति भएको हो । राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् । पूर्वाधार ध्वस्त भएका छन् । हजारौँ नागरिक प्रभावित बनेका छन् । हालसम्म ३२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

Advertisement

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पहिलो भूकम्प स्थानीय समयअनुसार साँझ ५ः०४ बजे ७.२ म्याग्निच्युडको थियो । त्यसको ३९ सेकेन्डपछि सोही क्षेत्रमा ७.५ म्याग्निच्युडको अझ शक्तिशाली भूकम्प गएको थियो। वैज्ञानिकहरूले यस घटनालाई ‘डबल अर्थक्वेक’ अर्थात् दोहोरो भूकम्पका रूपमा व्याख्या गरेका छन् ।

पहिलो भूकम्प मोरोन र सान फिलिप क्षेत्र नजिक करिब १३ किलोमिटर गहिराइमा गएको थियो भने दोस्रो तथा मुख्य भूकम्प याराकुई राज्यको युमारे आसपास मात्र १० किलोमिटर गहिराइमा केन्द्रित रहेको जनाइएको छ । सतह नजिकै केन्द्रविन्दु रहेकाले भूकम्पको कम्पन अत्यन्त तीव्र महसुस भएको थियो ।

भूकम्पपछि सबैभन्दा बढी प्रभावित राजधानी काराकास बनेको छ । अल्तामिरा, लोस पालोस ग्रान्डेस लगायतका घना बस्ती तथा व्यावसायिक क्षेत्रमा धेरै बहुमञ्जिला भवनहरू पूर्ण वा आंशिक रूपमा भत्किएका छन् । सरकारी अधिकारीहरूका अनुसार केही प्रमुख संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने सयौँ भवनमा ठूलो क्षति पुगेको छ ।

सडकहरूमा भग्नावशेष थुप्रिएका छन् । विद्युतका पोल ढलेका छन् । कतिपय स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । स्थानीयले भूकम्पको क्षणलाई निकै भयावह रहेको बताएका छन् । धेरै मानिसहरू घर तथा कार्यालयबाट भागेर खुला स्थानमा आश्रय लिन बाध्य भएका थिए ।

भूकम्पको असर राजधानीबाहेक ला गुआइरा, काराबोबो, अरागुआ, मिरान्डा, ट्रुजिलो र फाल्कन राज्यसम्म फैलिएको छ । ला गुआइरास्थित देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा समेत गम्भीर क्षति पुगेपछि प्रशासनले विमानस्थल अनिश्चितकालका लागि बन्द गरेको छ। यससँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू स्थगित भएका छन् ।

सरकारले हालसम्म मृतक र घाइतेको थप विवरण सार्वजनिक गरिसकेको छैन । यद्यपि, स्थानीय अस्पतालहरूमा घाइतेहरूको चाप तीव्र रूपमा बढिरहेको बताइएको छ । केही क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले वास्तविक क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको छ ।

फाल्कन राज्यका अधिकारीहरूले दर्जनौँ घाइते उपचाररत रहेको तथा भत्किएका संरचनाभित्र अझै मानिसहरू फसेको आशंका व्यक्त गरेका छन् । अमेरिकी भूगर्भीय निकायको प्रारम्भिक मूल्यांकनले यस प्रकारको शक्तिशाली र कम गहिराइको भूकम्पबाट ठूलो मानवीय क्षति हुन सक्ने संकेत गरेको छ ।

भूकम्पपछि क्यारिबियन क्षेत्रमा सुनामीको सम्भावनालाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो । तर, केन्द्रविन्दु समुद्री क्षेत्रमा नभएकाले समुद्री लहर खतरनाक स्तरमा नपुगेपछि केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो ।

मुख्य भूकम्पपछि लगातार पराकम्पहरू आउने क्रम जारी छ । दुई घण्टाभित्र आधा दर्जनभन्दा बढी शक्तिशाली पराकम्प महसुस गरिएको थियो भने हालसम्म २० भन्दा बढी साना तथा ठूला पराकम्प रेकर्ड भएका छन् । त्यसका कारण नागरिकहरू अझै घरभित्र फर्किन सकेका छैनन् ।

विपत्तिको गम्भीरता मूल्यांकन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी संकटकाल घोषणा गरेकी छन् । सरकारले विद्यालय, कलेज र सरकारी कार्यालयहरू अस्थायी रूपमा बन्द गरेको छ । सेना, प्रहरी, नागरिक सुरक्षा निकाय र रेडक्रसका हजारौँ उद्धारकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् ।

उद्धार टोलीहरूले भग्नावशेष हटाएर जीवित व्यक्तिको खोजी गरिरहेका छन् । कतिपय स्थानमा विशेष तालिमप्राप्त उद्धार कुकुर तथा आधुनिक खोज उपकरणको समेत प्रयोग भइरहेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय समुदायले भेनेजुएलाप्रति ऐक्यबद्धता व्यक्त गर्न थालेको छ । अमेरिकाले खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता पठाउने घोषणा गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले पनि राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विशेषज्ञहरूका अनुसार भूकम्पले खानेपानी, विद्युत, सञ्चार तथा यातायात पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएकाले प्रभावित क्षेत्रहरूलाई पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन लामो समय लाग्न सक्छ । प्रारम्भिक क्षतिको आकलन हेर्दा पुनर्निर्माण प्रक्रिया महिनौँदेखि वर्षौँसम्म लम्बिन सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.