
एजेन्सी । दक्षिण अमेरिकी देश भेनेजुएलामा गएको शक्तिशाली दुई भूकम्पपछि मृत्यु हुनेको संख्या बढ्दै दुई सयनजिक पुगेको छ । हालसम्म १८८ जनाको मृत्यु भएको छ । १५ सयभन्दा बढी मानिस घाइते भएका छन् ।
उद्धार कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । स्थानीय समयअनुसार बुधबार साँझ केही सेकेन्डको अन्तरमा लगातार दुई शक्तिशाली भूकम्प गएका थिए । पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने त्यसलगत्तै ७.५ म्याग्निच्युडको अर्को भूकम्पले ठूलो विनाश मच्चाएको थियो ।
भूकम्पका कारण सयौं भवन भत्किएका छन् भने धेरै मानिस अझै पनि भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार भत्किएका संरचनाभित्रबाट अझै मानिसहरूको आवाज सुनिएको जानकारी प्राप्त भएको छ । जसका आधारमा उद्धार टोलीले ती क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ ।
सबैभन्दा बढी क्षति ला गुएरा क्षेत्रमा भएको बताइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार उक्त क्षेत्रमा मात्रै सयभन्दा बढी भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । सडक, विद्युत् र सञ्चार संरचनामा समेत व्यापक क्षति पुगेको छ ।
उद्धारकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू प्रभावित क्षेत्रमा निरन्तर परिचालित छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने विस्थापित भएका हजारौं नागरिकलाई अस्थायी आश्रयस्थलमा राखिएको छ ।
अधिकारीहरूले भग्नावशेष हटाउने तथा जीवित व्यक्तिको खोजी कार्यलाई प्राथमिकतामा राखिएको जनाएका छन् । मृतक र घाइतेको संख्या थप बढ्न सक्ने उनीहरुले बताए ।



















