
एजेन्सी । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव फेरि चर्किएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरेको छ ।
आईआरजीसीको आधिकारिक सञ्चारमाध्यम ‘सेपाह न्यूज’का अनुसार कुवेतको अली अल सलेम वायुसेना आधार तथा बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडासँग सम्बन्धित आठ सैन्य पूर्वाधारलाई निशाना बनाएर संयुक्त आक्रमण गरिएको हो । इरानले यो कदम आफ्ना पाँच तटीय चौकीमाथि अमेरिकी सेनाले गरेको आक्रमणको प्रतिकारस्वरूप चालिएको जनाएको छ ।
आईआरजीसीका अनुसार अमेरिकी सेनाले आइतबार बिहान आफ्ना नौसैनिक जहाजसँग भएको भिडन्तलाई आधार बनाएर इरानका तटीय चौकीमा आक्रमण गरेको थियो । त्यसपछि अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरिएको दाबी गरिएको छ ।
इरानले अबदेखि स्ट्रेट अफ होर्मुजबाट अनधिकृत रूपमा आवतजावत गर्ने जहाजमाथि थप कडा निगरानी र कारबाही गरिने चेतावनी पनि दिएको छ । साथै, भविष्यमा हुने कुनै पनि सैन्य कारबाहीको तत्काल र कडा जवाफ दिइने जनाएको छ ।
आईआरजीसीले हालै इरान र अमेरिकाबीच भएको युद्धविरामसम्बन्धी समझदारी उल्लंघन भएको आरोप पनि लगाएको छ । उसले उक्त समझदारीअनुसार स्ट्रेट अफ होर्मुज क्षेत्रमा समुद्री यातायात व्यवस्थापनको जिम्मेवारी इरानको रहेको दाबी गर्दै पछिल्ला घटनाले कूटनीतिक प्रक्रियामै असर पार्न सक्ने चेतावनी दिएको छ ।
यता, कुवेतले आफ्नो भूमिलाई लक्षित गरी गरिएको आक्रमणको कडा विरोध गरेको छ। कुवेती विदेश मन्त्रालयले उक्त घटना देशको सार्वभौमसत्तामाथिको स्पष्ट उल्लंघन भएको बताउँदै यसले राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थायित्वमा गम्भीर चुनौती थपेको जनाएको छ ।
बहराइनको गृह मन्त्रालयले पनि इरानी आक्रमणका कारण मुहर्रक गभर्नरेटस्थित एक आवासीय भवनमा क्षति पुगेको पुष्टि गरेको छ । यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको र सुरक्षा तथा उद्धारका काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार आइतबार बिहान इरानको दक्षिणी होर्मोज्गान प्रान्त र केश्म टापुमा पनि धेरै विस्फोट भएका छन् । उता, अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले सामाजिक सञ्जाल एक्समार्फत इरानका विभिन्न सैन्य संरचनामाथि थप हवाई आक्रमण गरिएको जनाएको छ । सेन्टकमका अनुसार स्ट्रेट अफ हर्मुज नजिक पनामा झण्डा बोकेको एक ट्यांकनमाथि इरानले गरेको ड्रोन आक्रमणको प्रत्युत्तरस्वरूप ती कारबाही गरिएको हो ।
अमेरिकी सेनाले आफ्नो आक्रमण इरानका सैन्य निगरानी प्रणाली, सञ्चार संरचना, वायु प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारण स्थल तथा समुद्री सुरुङ बिछ्याउने क्षमतालाई लक्षित गरिएको दाबी गरेको छ । यसअघि शनिबार पनि अमेरिकी सेनाले इरानको दक्षिणी तटीय क्षेत्रमा हवाई आक्रमण गरेको थियो । त्यसको जवाफमा आईआरजीसीले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको हो ।
दुवै देशबीच गत जुन १८ मा लेबनानसहित क्षेत्रीय तनाव अन्त्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । अन्तिम शान्ति सम्झौताका लागि वार्ता जारी रहेकै बेला पछिल्ला सैन्य कारबाहीले परिस्थिति थप तनावपूर्ण बनेको छ ।

























