फोटो: एआईभोजपुर । भोजपुर–मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा–बालङ्खा–रानीटार सडक खण्डको स्थलगत अनुगमनका लागि पुगेका प्राविधिकमाथि कामदारको समूहले कुटपिट गरेको छ।
रामप्रसाद राई गाउँपालिकामा सडकको अवस्था हेर्न पुगेका पूर्वाधार विकास कार्यालय भोजपुरका प्राविधिक आनन्दकुमार साहमाथि कार्यरत कामदारहरूले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुटपिटबाट साहको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा ६ जना कामदारलाई नियन्त्रणमा लिइएको छ। प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र नीरज बोगटीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र दुवै पक्षको बयान लिएपछि कानुनी कारबाही अघि बढाइने बताइएको छ । यता, पूर्वाधार विकास कार्यालय भोजपुरले कार्यक्षेत्रमा खटिएका कर्मचारीमाथि भएको यस प्रकारको भौतिक आक्रमणले असुरक्षा बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले दोषीमाथि कडा कारबाही गर्न र फिल्डमा खटिने कर्मचारीको सुरक्षा ग्यारेन्टी गर्न माग गरेको छ।

























