पश्चिम एसियाको संकटले अरब अर्थतन्त्रमा ठूलो धक्का

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार ०७:४८

एजेन्सी । पश्चिम एसियामा जारी द्वन्द्व र अस्थिरताले अरब मुलुकहरूको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । अवस्था अझै गम्भीर बन्ने चेतावनी संयुक्त राष्ट्रसंघका निकायहरूले दिएका छन् ।

उनीहरूका अनुसार वर्तमान संकट लम्बिँदै गए अरब क्षेत्रले करिब १९४ अर्ब अमेरिकी डलरसम्म आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । संयुक्त राष्ट्रसंघीय महिला निकाय (यूएन वुमन)र पश्चिम एसियाका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएस्क्वा)ले सार्वजनिक गरेको संयुक्त प्रतिवेदनले संकटको प्रत्यक्ष प्रभाव रोजगारी, गरिबी र सामाजिक सुरक्षामा पर्ने उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार अरब मुलुकमा करिब ३६ लाख रोजगारी जोखिममा पर्ने र थप ४० लाख मानिस गरिबीको रेखामुनि धकेलिन सक्ने अनुमान गरिएको छ । प्रतिवेदनले विशेषगरी महिलाहरू बढी प्रभावित हुने जनाएको छ । श्रम बजारमा रहेको असमानता, अनौपचारिक क्षेत्रमा महिलाको उच्च संलग्नता तथा कमजोर आर्थिक क्षेत्रमा उनीहरूको बढी निर्भरता भएकाले संकटको भार महिलाले बढी व्यहोर्नुपर्ने अवस्था देखिएको हो ।

इराक, जोर्डन, लेबनान, प्यालेस्टाइन र सिरियामा मात्र प्रारम्भिक चरणमै ३४ हजारदेखि ५६ हजार महिलाले रोजगारी गुमाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । यदि संकट अझै गहिरिँदै गयो भने संख्या बढेर करिब ८० हजारसम्म पुग्न सक्ने चेतावनी पनि दिइएको छ ।

सार्वजनिक वित्तीय स्रोतमा बढ्दो दबाबका कारण शिक्षा, स्वास्थ्य र सार्वजनिक प्रशासनजस्ता क्षेत्रमा पनि महिलाको रोजगारी थप जोखिममा पर्ने जनाइएको छ । यसले नयाँ कर्मचारी भर्ना रोक्ने, तलब कटौती गर्ने तथा पारिश्रमिक वितरणमा ढिलाइ हुने सम्भावना बढाउने प्रतिवेदनको निष्कर्ष छ ।

अरब राष्ट्रहरूका लागि युएन वुमनकी क्षेत्रीय निर्देशक मोएज डोरेडका अनुसार संकटको असर सबै समुदायमा समान रूपमा नपर्ने भएकाले विशेषगरी महिलाको जीविकोपार्जन र आयस्रोत जोगाउन लक्षित नीतिहरू आवश्यक छ । प्रतिवेदनले अनौपचारिक तथा निजी क्षेत्रमा कार्यरत महिलाको आयस्रोत सुरक्षित गर्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी लगानी कायम राख्न, महिला नेतृत्वका व्यवसायलाई प्रोत्साहन गर्न तथा श्रम बजारमा लैंगिक असमानताको नियमित निगरानी गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरकारहरूलाई सुझाव दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.