
विराटनगर । सप्तरी घर भएका एक जना युवक शनिबार दिउँसो विराटनगरबाट पक्राउ परेका छन् । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–७ सीतापुर घर भएका २४ वर्षीय सुमीतकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको जोगवनी पुगेर पैदल नै नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले दिउँसो २ः५५ बजेतिर विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा रोकेर चेकजाँच गरेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा चौधरीको साथमा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) फेला परेको थियो ।
चौधरीको साथबाट ९.०५ ग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार लागुऔषधसहित चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























