मोरङमा बालकको साथबाट ६ किलो बढी गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार ०६:२३

विराटनगर । मोरङमा प्रहरीले १५ वर्षीय एक बालकको साथबाट ६ किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।

जहदा गाउँपालिका–२ स्थित मिलन चोकमा इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय बुधनगरको संयुक्त टोलीले शंकास्पद अवस्थामा साइकलमा यात्रा गरिरहेका एक बालकलाई शुक्रबार साँझ करिब ६ बजेतिर रोकेर चेकजाँच गरेको थियो । मिलन चोकबाट डुमरियातर्फ जाँदै गरेको साइकललाई चेकजाँच गर्दा जहदा–७ घर भएका १५ वर्षीय बालकको साथबाट ६ किलो २८० ग्राम प्रतिबन्धित गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा र साइकलसहित बालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाका बारेमा इन्स्पेक्टर प्रवणी घिमिरे नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

कानुनी व्यवस्थाअनुसार बालबालिकाको पहिचान गोप्य राख्नुपर्ने भएकाले बालकको नाम सार्वजनिक गरिएको छैन । यद्यपि, गाँजा बालकसम्म कसरी पुग्यो, कहाँ लैजान लागिएको थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.