सीमावर्ती क्षेत्रमा बढ्दो चुनौतीबीच मोरङमा सशस्त्र र सीमावासीबीच संवाद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार १०:१३

विराटनगर । नेपाल–भारत खुला सीमामा सुरक्षा चुनौती, सीमापार अपराध, लागुऔषध ओसारपसार तथा स्थानीयले भोगिरहेका दैनिक समस्यालाई केन्द्रमा राख्दै सशस्त्र प्रहरी बल नेपालले मोरङमा सीमावासीसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

सीमा सुरक्षालाई प्रभावकारी बनाउने, स्थानीय समुदायसँग विश्वासको सम्बन्ध मजबुत पार्ने तथा सीमासम्बन्धी समस्याको पहिचान गर्ने प्रयास स्वरुप दोहोरो संवादको आयोजना गरिएको हो । विराटनगर महानगरपालिका–१८ स्थित नेपाल कष्टम यार्ड भवनमा बिहीबार आयोजित ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा सीमावर्ती क्षेत्रका बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।

विराटनगर महानगरपालिका–१८ का वडाध्यक्ष जितेन्द्र साह कार्यक्रमको प्रमुख अतिथि थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङका गणपति एवं एसपी गेहेन्द्रबहादुर भण्डारी, सीमा सुरक्षा गुल्म मुख्यालय रानीका गुल्मपति एवं डीएसपी तिलकबहादुर खड्का, बोर्डर आउट पोस्ट (बीओपी) जहदा–भुटाहाका प्रमुख एवं इन्स्पेक्टर सुमन सुवेदी तथा अस्थायी प्रहरी पोस्ट भेडियारीका असई ब्रह्मदेव यादवको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा नेपाल–भारत सीमाको समग्र सुरक्षा अवस्था, सीमा अपराध नियन्त्रण, लागुऔषधको ओसारपसार रोकथाम, सीमावासीले भोगिरहेका समस्या तथा गुनासा, दशगजा क्षेत्रको अतिक्रमण, भारतीय सीमा सुरक्षा बल (एसएसबी)को व्यवहार तथा सीमामा देखिने अन्य व्यावहारिक जटिलताका विषयमा खुला छलफल भएको एसपी भण्डारीले बताए । सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीसहितका सुरक्षा निकायको जिम्मेवारीदेखि स्थानीय समुदायको सक्रिय सहभागिताविना प्रभावकारी हुन नसक्ने धारणा कार्यक्रमका सहभागीले राखेका थिए ।

सीमामा हुने अवैध गतिविधिका बारेमा समयमै सूचना उपलब्ध गराउन र अपरिचित गतिविधिप्रति सतर्क रहन तथा अपराध नियन्त्रणमा सहकार्य गर्न सशस्त्रका अधिकारीहरुले स्थानीयलाई आग्रह गरेका छन् । छलफलका क्रममा सीमावासीहरूले आफूहरूले दैनिक रूपमा भोगिरहेका विभिन्न समस्या पनि राखेका थिए । विशेष गरी दशगजा क्षेत्रमा हुने अतिक्रमण, सीमापार आवतजावतका क्रममा देखिने व्यवहारगत समस्या, लागुऔषधको बढ्दो प्रभाव तथा सीमासम्बन्धी प्रशासनिक कठिनाइका बारेमा स्थानीयले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

भारतीय समकक्षी सुरक्षा निकाय एसएसबीसँग सम्बन्धित व्यवहारका विषय पनि कार्यक्रममा उठाइएको थियो । सशस्त्र प्रहरी बलले यस्ता गुनासा र सुझावलाई सम्बन्धित निकायसम्म पुर्‍याउने तथा आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको थियो । सीमामा शान्ति, सुरक्षा र कानुनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय समुदायसँग निरन्तर संवादलाई प्राथमिकतामा राखिने जानकारी एसपी भण्डारीले दिए ।

नेपाल–भारत खुला सीमाका कारण सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्ध सहज बने पनि यही खुलापनको दुरुपयोग गर्दै तस्करी, लागुऔषध र हतियार कारोबार, मानव बेचबिखन, अवैध आवतजावत तथा अन्य सीमापार अपराधजस्ता चुनौती कायमै छन् । यस्ता चुनौतीको सामना गर्न सुरक्षा संयन्त्र र स्थानीय समुदायबीचको सहकार्यलाई प्रभावकारी उपायका रूपमा लिइन्छ ।

सीमामा खटिएका सुरक्षाकर्मी र स्थानीय समुदायबीच नियमित अन्तरक्रिया हुँदा समस्याको समयमै पहिचान गर्न, गलत सूचना र अविश्वास कम गर्न तथा अपराध नियन्त्रणमा समुदायको सहभागिता बढाउन मद्दत पुग्ने सुरक्षा अधिकारीहरु बताउँछन् । दोहोरो अन्तरक्रियाले सीमा सुरक्षालाई सुरक्षा निकायको विषय नभई साझा सामाजिक जिम्मेवारीका रूपमा स्थापित गर्न पनि योगदान पुर्‍याउँछ ।

सीमा सुरक्षामा समुदाय आधारित अवधारणालाई थप बल पुर्‍याउने प्रयास सुरक्षा निकायबाट भइरहेको छ । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका वास्तविक अनुभव र सुरक्षा निकायका कार्ययोजनाबीच प्रत्यक्ष संवाद हुँदा नीति कार्यान्वयनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको एसपी भण्डारीले बताए । सशस्त्रले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सीमावासीका गुनासा सम्बोधन, सीमा अपराध नियन्त्रण तथा नेपाल–भारत सीमामा सुरक्षित र व्यवस्थित वातावरण निर्माणमा थप प्रभावकारी भूमिका खेल्न पर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.