कोशी अस्पताल र बीपी प्रतिष्ठानको जग्गा खाली गराउन सरकार आक्रामक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार ०७:१३

विराटनगर । कोशी प्रदेशका दुई ठूला सरकारी स्वास्थ्य संस्थाको स्वामित्वमा रहेको बहुमूल्य जग्गा वर्षौंदेखि विभिन्न संस्था, समिति तथा व्यवसायीले प्रयोग गर्दै आएको विषयमा संघीय सरकारले कडा कदम चालेको छ ।

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले आइतबार विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गर्दै अतिक्रमण तथा अनधिकृत प्रयोगमा रहेका सरकारी सम्पत्ति कानुनी प्रक्रियाअनुसार फिर्ता गराउन स्पष्ट निर्देशन दिएका छन् । कोशी अस्पतालको जग्गामा बनेका औषधि पसलदेखि विभिन्न संस्थाका संरचनासम्मको निरीक्षण गरेका मन्त्रीद्वयले एक साताभित्र जग्गा खाली गराउने प्रतिबद्धता व्यक्त गरे ।

बीपी प्रतिष्ठानमा पनि गल्फ क्लबसहित अनधिकृत रूपमा प्रयोग भइरहेका सम्पत्तिको अध्ययन गरी तत्काल कानुनी प्रक्रिया अघि बढाउन उनीहरुले निर्देशन दिएका छन् । कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा लामो समयदेखि औषधि पसल तथा विभिन्न संघ संस्थाका भवन निर्माण गरी व्यावसायिक गतिविधि सञ्चालन हुँदै आएको छ ।

आइतबार साँझ मन्त्रीद्वयले अस्पताल परिसरको स्थलगत निरीक्षण गर्दै त्यहाँ सञ्चालित व्यवसाय तथा संरचनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए । निरीक्षणका क्रममा गृहमन्त्री गुरुङ उज्ज्वल फार्मा पुगेका थिए । उनले पसल सञ्चालकसँग औषधि पसल सञ्चालनको आधार, सम्झौता पत्र तथा भाडा सम्बन्धी विवरण माग गरे ।

गृहमन्त्रीले पसल सञ्चालकलाई ‘कन्ट्र्याक्ट पेपर कहाँ छ ? कति रकममा लिनु भएको हो ?’ भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा सञ्चालकले सम्झौता पत्र घरमा रहेको र आफूले मासिक ६० हजार रुपैयाँ भाडा तिर्दै आएको बताएका थिए ।

त्यसपछि गृहमन्त्री गुरुङले कडा निर्देशन दिँदैन भने, ‘अबको एक हप्ताभित्र मलाई यो खाली चाहियो । नोटिस आउँछ । समिति मलाई मतलब छैन । यो सरकारी जग्गा हो । सरकारी जग्गामा बसेपछि समितिलाई भाडा बुझाउने होइन ।’ उनले औपचारिक प्रक्रिया सुरु हुने जानकारी दिँदै पसल सञ्चालकलाई भने, ‘अहिले मैले मौखिक रूपमा जानकारी गराएँ । अब औपचारिक रूपमा पत्र आउँछ । त्यसपछि आवश्यक कुरा गरौँला ।’

त्यसपछि उनी अर्को पसलतर्फ जानकारी लिन पुगेका थिए । तर, सर्वसाधारणको भिड बढेपछि टोली अस्पतालभित्र प्रवेश नगरी बाहिरिएको थियो । यसैबीच स्वास्थ्यमन्त्री निशा मेहताले अस्पताल प्रशासनले दिएको समयसीमा सकिँदासमेत अतिक्रमित संरचना नहटाइनु दुःखद भएको बताउँदै अब सरकार कार्यान्वयनमै जाने स्पष्ट पारिन् ।

उनले सञ्चारकर्मीसँग भनिन्, ‘अस्पतालले दिएको समयसीमा सकिँदासमेत संरचना खाली नहुनु दुःखद हो । अबको एक हप्ताभित्र यो ठाउँ खाली हुन्छ । हामी यसलाई कार्यान्वयन गरेरै छाड्छौँ ।’ कोशी अस्पताल प्रशासनले यसअघि अतिक्रमित संरचना हटाउन १५ दिनको समय दिएको थियो । म्याद असार २२ गते सोमबार सकिएको छ । समयसीमा सकिन लाग्दा मन्त्रीद्वयसहितको टोली अस्पताल पुगेको हो ।

कोशी अस्पतालको नाममा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को बहुमूल्य जग्गामा अहिले नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गरिरहेका छन् । सामाजिक सेवाको नाममा प्रयोग भइरहेका संरचनामा ३० भन्दा बढी सटर निर्माण गरेर मासिक लाखौँ रुपैयाँ भाडा उठाइँदै आएको अस्पतालको अध्ययनले देखाएको छ ।

अस्पतालको आन्तरिक विवरणअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा प्रयोग गर्दै मासिक करिब दुई लाख रुपैयाँ भाडा संकलन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटीले करिब दुई कट्ठा जग्गामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा दिएर मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको छ । त्यस्तै, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडाका सटरबाट उल्लेख्य रकम संकलन गरिरहेका छन् ।

यता अस्पताल भने आफ्नै स्वामित्वको जग्गा प्रयोग गर्न नपाउँदा पूर्वाधार विस्तारमा समस्या झेलिरहेको छ । अझ रोचक पक्ष के छ भने उपयोग गर्न नपाएको जग्गाको राजस्व भने अस्पतालले नियमित रूपमा सरकारलाई बुझाउँदै आएको छ ।

अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलका अनुसार अस्पतालले २०८३ असारसम्मको १० लाख ५७ हजार ८६० रुपैयाँ राजस्व सरकारी ढुकुटीमा जम्मा गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले पनि यसअघि नै अतिक्रमित संरचना हटाउन निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले गत शुक्रबार सम्बन्धित पक्षलाई बोलाएर एक साताभित्र जग्गा खाली गर्न निर्देशन दिएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले मन्त्रीहरूको प्रतिबद्धतापछि अब प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उता गृहमन्त्री गुरुङको निर्देशनपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको गल्फ क्लब तथा अन्य संरचनाको पनि स्थलगत निरीक्षण गरिएको छ । गृहमन्त्रीको निर्देशनलगत्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रहरी प्रमुख एसपी केशवकुमार थेवे, प्रतिष्ठानका निमित्त उपकुलपति डा. इन्द्र लिम्बूलगायतको टोलीले आइतबार प्रतिष्ठान परिसरको निरीक्षण गरेको थियो ।

निरीक्षणपछि प्रजिअ घिमिरेले प्रतिष्ठानको जग्गा तथा सम्पत्ति अनधिकृत रूपमा प्रयोग भइरहेको विषयमा विस्तृत अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया तत्काल अघि बढाइने बताए । अतिक्रमणमा परेको जग्गा तथा अनधिकृत रूपमा प्रयोग भइरहेका सम्पत्तिको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन ।

उनले प्रतिष्ठान व्यवस्थापन, जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त बैठक आयोजना गरी जिम्मेवारी बाँडफाँटसहित कार्यान्वयन प्रक्रिया सुरु गरिने जानकारी दिए । निरीक्षणका क्रममा प्रतिष्ठान परिसरभित्र रहेका १० वटा आवासगृह करिब सात वर्षदेखि प्रयोगविहीन र जीर्ण अवस्थामा रहेको पाइएको छ । ती संरचनाको संरक्षण, मर्मत तथा पुनः सञ्चालनका लागि तत्काल कार्यदल गठन गरी आवश्यक प्रक्रिया अघि बढाउन निमित्त उपकुलपति डा. लिम्बूलाई निर्देशन दिइएको छ ।

प्रजिअ घिमिरेका अनुसार गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताको निर्देशनअनुसार प्रतिष्ठानअन्तर्गत रहेको गल्फ क्लबलाई आधुनिक स्वरूपमा विकास गर्ने अवधारणासमेत अघि सारिएको छ । यसअन्तर्गत गल्फ मैदानलाई पर्यटनसँग जोडिएको बहुउद्देश्यीय पूर्वाधारका रूपमा विकास गर्ने, सुविधासम्पन्न होटल, स्विमिङ पुल, प्राकृतिक उपचार केन्द्रलगायतका संरचना निर्माण गर्ने सम्भावनाका बारेमा अध्ययन गरिनेछ ।

प्रतिष्ठानको जग्गा व्यक्ति तथा विभिन्न समूहले अनुमति बिना प्रयोग गरिरहेको गुनासो आएपछि गृहमन्त्री गुरुङले त्यसको अध्ययन गरी यथाशीघ्र खाली गराउन निर्देशन दिएका हुन् । निर्देशनपछि आइतबार साँझ प्रतिष्ठानका पदाधिकारी, प्रशासन तथा गल्फ क्लबका प्रतिनिधिबीच संयुक्त स्थलगत निरीक्षण र प्रारम्भिक छलफलसमेत भएको थियो ।

त्यसअघि गृहमन्त्री गुरुङ, स्वास्थ्यमन्त्री मेहता तथा प्रतिष्ठान व्यवस्थापनबीच करिब तीन घण्टा लामो आन्तरिक छलफल भएको थियो । छलफलमा प्रतिष्ठानभित्र देखिएका बेथिति तथा अनियमितता, एम्बुलेन्स सञ्चालन र व्यवस्थापन, बिरामी ओसारपसारमा सक्रिय बिचौलियाको भूमिका, औषधि सिफारिसमा हुने चलखेल, अस्पताल फार्मेसी व्यवस्थापन तथा समग्र सेवा सुधारका विषयमा विस्तृत समीक्षा गरिएको प्रजिअ घिमिरेले जानकारी दिए ।

सरकारी अस्पतालको स्वामित्वमा रहेको सार्वजनिक जग्गा फिर्ता गराउने अभियानअन्तर्गत सरकार आक्रामक बनेको छ । मन्त्रीद्वयको निर्देशनपछि अब अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भइरहेका सरकारी जग्गा र संरचना कानुनी प्रक्रियामार्फत खाली गराउने कामले तीव्रता पाउने भएको छ ।

तपाइको प्रतिक्रिया
संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले खाेजे प्रधानमन्त्री
नेप्सेका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा
धरान औद्योगिक क्षेत्रमा ५ उद्योगको लिज खारेज, ३५ करोडको नयाँ लगानी
एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने
प्रदेशका मन्त्री र मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीकाे चेतावनी
  सुनको मूल्य घट्यो 
साताको दोस्रो पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
पहिलो पटक विदेशी अधिकारीसँग भेट गर्दै प्रधानमन्त्री बालेन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.