
विराटनगर । विराटनगरमा उपचाररत क्षयरोगका बिरामीहरूलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था (नाटा) ले ‘क्षयरोगका बिरामीहरूलाई उपचारको ६ महिना अवधिभर पोषण खाद्यान्न सहयोग कार्यक्रम २०२६’ अन्तर्गत बिरामीहरूलाई राहत सामग्री वितरण गरेको हो ।
गत फागुन महिनादेखि सञ्चालनमा आएको यस कार्यक्रममार्फत हाल ८ जना अति विपन्न क्षयरोगीहरूले नियमित रूपमा पोषणयुक्त खाद्यान्न प्राप्त गरिरहेका छन् । बिरामीको स्वास्थ्य अवस्था सुधार्न र औषधिको प्रभावकारिता बढाउनका लागि वितरण गरिएको खाद्यान्न प्याकेजमा प्रदान गरिएको छ । बिरामीहरूलाई २५ केजी चामल, दाल, चना, १ क्रेट अण्डा, न्युटेला (सोयाबिन), खाने तेल र सर्वोत्तम पिठो वितरण गरिएको हो ।
यो कार्यक्रमलाई बीएनएमटी नेपाल र सावित्रा बस्न्यात फन्ड फर टीबीले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।
कार्यक्रममा बोल्दै बीएनएमटीका कार्यक्रम संयोजक रामप्रसाद कोइरालाले नाटाबाट औषधि उपचार गराइरहेका गरिब तथा विपन्न बिरामीहरूलाई छनोट गरी खाद्यान्न वितरण गरिएको बताए । ‘क्षयरोगको औषधि सेवन गरेपछि शरीरलाई तागतिलो खानाको आवश्यकता पर्छ । पैसाको अभावमा खाना खान नपाएर बिरामीले औषधि नछोडुन् भन्ने उद्देश्यले हामीले यो सहयोग सुरु गरेका हौँ,’ कोइरालाले भने ।
त्यस्तै, नाटाका केन्द्रीय कार्यवाहक अध्यक्ष राजन श्रेष्ठले विगत ४०–४५ वर्षदेखि नाटा र बीएनएमटीबीच सहकार्य हुँदै आएको स्मरण गराए । उनले न्यून आय भएका व्यक्तिले पोषणयुक्त खाना खान पाएमा रोग चाँडै निको हुने र औषधि सेवनमा निरन्तरता रहने विश्वास व्यक्त गरे ।
नाटा मोरङका कार्यवाहक अध्यक्ष भैरव क्षेत्रीले बीएनएमटीसँगको यो ऐतिहासिक सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताए ।
क्षयरोग निवारणका लागि औषधि मात्र पर्याप्त नहुने र उचित खानपानको पनि उत्तिकै भूमिका हुने भएकाले यस कार्यक्रमले बिरामीहरूलाई ठुलो राहत पुगेको छ ।

























