कोशीमा सशस्त्रको घुमुवा बसेर ‘असुली आतंक’ मच्चाउनेहरु काठमाडौं तानिए, छानबिन हुँदै

Share this
707shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ असार २३, मंगलबार ०७:४३
सशस्त्रका सई गणेश खड्का ।

विराटनगर । कोशी प्रदेशमा सशस्त्र प्रहरीको घुमुवा बसेर तस्करीमा संलग्न गिरोहसँग साँठगाँठ गर्दै ‘असुली आतंक’ मच्चाउनेहरुमाथि छानबिन सुरु भएको छ ।

सशस्त्र प्रहरी बल मुख्यालयले काठमाडौं तानेर तीन जनामाथि छानबिन गरिरहेको हो । छानबिनमा पर्नेहरुमा सशस्त्र प्रहरीको पकलीस्थित पूर्व क्षेत्रीय अस्पतालमा कार्यरत सई (सशस्त्र प्रहरी नायब निरीक्षक) गणेश खड्का, सशस्त्र प्रहरीको झापास्थित ३८ नम्बर रिजर्भ गणमा कार्यरत हवल्दार हरि मगर र सुनसरीस्थित सशस्त्र प्रहरीको ४ नम्बर गणमा कार्यरत जवान पारस यादव रहेका छन् ।

Advertisement

तीनै जनालाई असार १० गते काठमाडौं तानेर छानबिन एवं आन्तरिक अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताए । उनका अनुसार सई खड्कासहित तीनै जनाका बारेमा तस्करको समूहसँग मिलेमतो गरेर आर्थिक लाभ लिएको लगायतका विभिन्न गुनासाहरु आएका थिए ।

पछिल्लो समय सई खड्काले कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी मनिष थापाको घुमुवा बनेर तस्करीमा संलग्न व्यक्तिहरुसँग असुली गर्ने गरेको आरोप लागेको छ । हवल्दार मगर र जवान यादव दुवै जनालाई आफ्नो मातहतमा रहने गरी खड्काले परिचालन गरेका थिए । खड्काकै माध्यमबाट खटिएका उनीहरुले तस्करी र अवैध धन्दा चलाउने समूहसँग मिलेमतो गरेर असुली गर्ने गरेको उजुरी सशस्त्र मुख्यालयमा परेको थियो ।

सई खड्का लामो समयदेखि घुमुवा बसेर पैसा असुलीमा संलग्न रहेको सशस्त्रका अधिकारीहरु बताउँछन् । सशस्त्रका विवादित जुनियर अधिकृत उनलाई कोशी प्रदेशका तत्कालीन सशस्त्र प्रहरी प्रमुख शम्भु सुवेदी (हाल अवकाशप्राप्त)ले घुमुवाका रुपमा परिचालन गरेका थिए । त्यसयता घुमुवा बनेर व्यापक असुली गरिरहेको गुनासो बारम्बार आउँदा पनि उनीमाथि छानबिन भएको थिएन । सुवेदीपछि कोशीमा सशस्त्रका तीन जना डीआईजी परिवर्तन भइसकेका छन् ।

सुवेदीभन्दा अघि कोशीको सशस्त्र प्रहरी प्रमुख रहेका तत्कालीन डीआईजी (हाल एआईजी) अन्जनीकुमार पोखरेलले पैसा उठाउने गरेको थाहा पाएपछि सई खड्कालाई सशस्त्रको काठमाडौंस्थित २० नम्बर गणमा पठाएका थिए । पहुँचका भरमा काठमाडौंबाट खड्काको धनकुटा सरुवा भयो ।

धनकुटा बस्दा पनि तस्करको गिरोहलाई सुनसरीका विभिन्न नाका हुँदै गाँजादेखि लिएर विभिन्न वस्तुको तस्करीमा सहजीकरण गरेर पैसा असुलेको आरोप खड्कामाथि लागेको थियो । अर्को विशेष कुरा धनकुटा दरबन्दी भएको १ वर्ष पनि नपुग्दै पावर लगाएर पूर्व क्षेत्रीय अस्पतालमा दरबन्दी बनाउन खड्का सफल भए । सामान्यता सशस्त्रका जुनियर अधिकृतदेखि जवानसम्मको सरुवा ३ वर्षमा हुने गर्छ । तर, उनी धनकुटा दरबन्दी भएको वर्ष दिनभित्रै पकली दरबन्दी बनाउन सफल भए ।

१ वर्षमै दरबन्दी कायम बनाएर पकली आउन सफल भएपछि खड्काले असुली धन्दा झन् व्यापक बनाएको स्रोतले बतायो । ‘हाकिम रिझाएर’ घुमुवा बस्न माहिर खड्कामाथि डीआईजीको नाम बेचेर आफू मातहतमा रहने गरी सशस्त्र प्रहरी परिचालन गर्दै सुनसरी, मोरङ र झापाका विभिन्न नाकाबाट तस्करी गराउने गरेको आरोप लामो समयदेखि लागिरहेको थियो । तस्करीमा संलग्न ठूलो गिरोहसँग मिलेमतो गरेर मासिक लाखौं रकम उठाउँदै बारम्बार विवादमा आइरहने खड्काले पेसागत मर्यादाविपरीतको गतिविधि गरिरहेका थिए ।

स्रोतका अनुसार सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीकै सईले घुमुवा बसेर अचाक्ली असुली गर्दै नेपाल–भारत सीमा क्षेत्रबाट ठूलो मात्रामा तस्करी गराउँदै आएका थिए । नेपालबाट भारततिर लागुऔषध गाँजा, गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारी लगायत तस्करी गर्न सहजीकरण गर्ने गरेको आरोप उनीमाथि लागेको छ । खड्काले भारतबाट नेपालतर्फ लत्ताकपडा, माछा, ब्रोइलर कुखुरा, चिनी, मसला, किराना सामान, धान, गहुँ, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामान तथा विभिन्न खाद्यान्न परिकार तस्करीका लागि सहजीकरण गर्ने गरेको सशस्त्र स्रोतको भनाइ छ । नेपाल–भारत सीमा क्षेत्रबाट अन्य धेरै वस्तुहरुको तस्करी हुने गरेको छ ।

सुनसरीबाट भारततर्फ तस्करी गरिएको ठूलो परिमाणको गाँजा भारतीय सुरक्षाकर्मीले गत जेठ तेस्रो साता बरामद गरेको थियो । सुनसरीको सीमा नाका हुँदै भारततर्फ लगिएको १७ सय ३३ किलोग्राम गाँजा भारतीय सुरक्षाकर्मीले बिहारको वीरपुरमा बरामद गरेका हुन् । तस्करी गरेर सीमा कटाइएको गाँजा भारतीय भूमिमा बरामद भएपछि नेपाली सुरक्षा निकायसँगको मिलेमतो एवं ‘सेटिङ’को विषय बाहिरिएको थियो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले को १ ज २७२१ नम्बरको नेपाली गाडीलाई नियन्त्रणमा लिएर ठूलो परिमाणमा गाँजा बरामद गरेपछि ‘सेटिङ’को विषय बाहिरिएको थियो । त्यतिबेला सई खड्काकै समूहले संगठित रूपमा गाँजा तस्करी गराएको आरोप लाग्यो । यस विषयमा पनि उनीमाथि छानबिन भइरहेको छ । ठूलो परिमाणको गाँजा कुनै सामान्य समूहले नभई संगठित नेटवर्कमार्फत सशस्त्रका घुमुवाको मिलेमतोमा सीमा पार गराइएको स्रोतको भनाइ छ । यसमा नेपाल प्रहरीको भूमिका पनि शंकास्पद देखिएको थियो ।

प्रहरी स्रोतका अनुसार गाँजा तस्करीमा ‘सेटिङ’ हुने गरेको छ । ‘गाँजा बोकेका गाडीलाई पहिल्यै ‘लाइन क्लियर’ गरिन्थ्यो । त्यसमा सशस्त्रका घुमुवाले विशेष भूमिका खेल्ने गरेका थिए । त्यही भएर गाँजाका गाडी सहजै सीमापार हुने गरेका हुन्,’ स्रोतले भन्यो ।

खड्काको टोलीले असुली आतंक मच्चाउँदा राज्यलाई प्राप्त हुने लाखौं रूपैयाँ राजस्व गुमेको छ । सशस्त्रका प्रवक्ता डीआईजी कार्कीले गुनासो र उजुरीका आधारमा सई खड्कासहित तीनै जनालाई काठमाडौं तानेर छानबिन सुरु गरिएको जानकारी दिए । ‘तस्करीमा संलग्न समूहसँग साँठगाँठ गरेर आर्थिक लाभ लिएको विषय आयो । बुझ्दा व्यापक मात्रामा तस्करी चलिरहेको सुनियो । त्यसपछि काठमाडौं तानेर छानबिन अघि बढाइएको छ । खड्कासहितका सशस्त्र प्रहरीको ‘कनेक्सन’ को–कोसँग रहेछ र उनीहरुले तस्करीको धन्दा चलाउँदै कसरी असुली गरिरहेका थिए भन्ने बारेमा विस्तृत छानबिन भइरहेको छ,’ उनले भने ।

डीआईजी कार्कीका अनुसार कार्यसम्पादन र अनुशासनको विषयमा प्रश्न उठेपछि गम्भीर ढंगले छानबिन भइरहेको हो । बोर्डर (सीमा क्षेत्र)मा हुने क्रियाकलापसँग सम्बन्धित विवादमा आईजीपी नारायणदत्त पौडेलको निर्देशनमा उनीहरु काठमाडौं तानिएका हुन् । सशस्त्र प्रहरी कर्मचारीलाई आर्थिक अनुशासन र कार्य सम्पादनमा शून्य सहनशीलता अपनाउन पौडेलको विशेष निर्देशन छ ।

आईजीपी पौडेलले आर्थिक र आन्तरिक अनुशासन, पारदर्शिता एवं सुशासनको विषयमा निर्मम भएर कार्यसम्पादन चुस्त दुरुस्त राख्न समेत निर्देशन दिएका छन् । तर, आईजीपीको निर्देशनविपरीत गतिविधि गरेको पाइएपछि तीनै जनामाथि सशस्त्र प्रहरी बल मुख्यालयअन्तर्गत गरेको कानुन निर्देशनालयले छानबिन गरिरहेको कार्कीले बताए ।

‘कार्यसम्पादन सन्तोषजनक नभएका सबै कारबाहीको भागिदार बन्छन् । पछिल्लो समय सीमा सुरक्षा गुल्मका गुल्मपति र बीओपीका इन्चार्जहरु धेरै जना छानबिनका लागि काठमाडौं तानिएका छन्,’ उनले भने । लामो समयदेखि एउटै जिल्लामा बस्ने कर्मचारीहरु सबैलाई यो साताभित्रमा अन्यत्र जिल्लामा सरुवा गरिसक्ने नीति लिएर त्यही अनुसार काम भइरहेको कार्कीले बताए । ‘हालसम्म ५० प्रतिशत सरुवा भइसकेको छ । ५० प्रतिशत यो हप्ताभित्र गरिसक्छौं,’ उनले भने ।

सई खड्काको तस्करसँग मिलेमतोको केही प्रमाण फेला परिसकेको बताउँदै विस्तृत छानबिनपछि कारबाही प्रक्रिया अघि बढाइने सशस्त्रले जनाएको छ । तस्करीको लाइन चलाउँदै लामो समयदेखि अवैध असुली गरिरहेकालाई काठमाडौं झिकाएर अनुसन्धान सुरु गरिएपछि अहिले कोशीमा सशस्त्रका कोही पनि घुमुवा छैनन् ।

सशस्त्र प्रहरीभित्र खैलाबैला मच्चिएको छ । आफूले ‘पैसा असुली’का लागि खटाएका घुमुवामाथि छानबिन सुरु भएपछि कोशीका सशस्त्र प्रहरी प्रमुख डीआईजी मनिष थापा पनि विवादमा तानिएका छन् । असुली प्रकरणले उनको भूमिका शंकास्पद एवं विवादास्पद बनाएको छ । स्रोतका अनुसार अहिले विगतमा घुमुवा बसेकादेखि लिएर विभिन्न युनिटका इन्चार्जसम्म सशस्त्र मुख्यालयको निगरानीमा परेका छन् ।

भन्सार छली गरेर नेपाल भित्राइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप सशस्त्रका घुमुवामाथि लागिरहेको छ । यसको नेतृत्व सई खड्काले गरिरहेको स्रोतको भनाइ छ । सई खड्काको टोलीलाई काठमाडौं तान्नुअघि कोशी प्रदेशका विभिन्न नाकाबाट खुलेआम तस्करी भइरहेको थियो । जसको असर राजस्व संकलनमा परिरहेको भन्सारका अधिकारीहरू बताउँछन् ।

‘तस्करी रोक्नुपर्ने निकाय नै अवैध धन्दा चलाउनेहरूसँग मिलिरहेको पाइन्छ । सीमा क्षेत्रबाट व्यापक मात्रामा तस्करी भइरहेको थियो । बुझ्दा त सशस्त्रकै घुमुवा पो संलग्न रहेको पाइयो,’ सीमा क्षेत्रका एक जना वडाध्यक्षले भने, ‘रोक्नका लागि पटकपटक हामीले आग्रह गर्दा पनि बेवास्ता गरिन्थ्यो । यसले मिलेमतोमै काम भइरहेको प्रष्ट हुन्छ । तस्करी रोक्नुपर्ने निकाय सशस्त्रसँगकै ‘सेटिङ’मा तस्करीले प्रश्रय पाउँदा त्यसको असर राज्यलाई परिरहेको छ ।’

कारबाहीका लागि काठमाडौं तानिएका सशस्त्रका सई गणेश खड्काले भने आफूमाथि छानबिन भइरहेको कुरा अस्वीकार गरेका छन् । कारबाहीका लागि तानिएको कुरा आफूलाई थाहा नभएको उनले बताए । ‘म त राजीनामा लेख्न आएको हो । जागिरबाट राजीनामा दिने तयारीमा छु । कारबाहीको लागि तानेको कुरा मलाई थाहा छैन । मैले तस्करीको लाइन पनि चलाएको छैन । पैसा असुल्ने त धेरै परको कुरा हो,’ उनले भने ।

तपाइको प्रतिक्रिया
नुवाकोटबाट फर्किएपछि प्रधानमन्त्रीले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ’
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
रसुवा बाढीपीडितका लागि कर्मचारीको तलब कट्टा गरिने, ३६ करोड रुपैयाँ जुट्ने
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
‘व्यक्ति होइन, पार्टी मुख्य कुरा हो’ (भिडियोसहित)
बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×