
काठमाडाैं । बहुचर्चित नक्कली भुटानी शरणार्थी ठगी प्रकरण मुद्दाका अधिकांश आरोपी कसुर ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौंले मंगलबार अधिकांश आराेपीलाई कसुरदार ठहर गरेकाे हाे ।
सजाय निर्धारणका लागि अर्काे पेशी ताेकिएकाे छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासको पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितलाई दाेषी ठहर गरेकाे हाे ।
याे मुद्दामा ३० जना विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो । कागजात तयार पारी सङ्गठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा छ ।
याे प्रकरणमा बिचौलिया केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्मा, साथै गिरोहको नेटवर्कमा रहेर काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन, उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल विरुद्ध पनि यही कसुरमा दायर मुद्दा दायर भएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझी (टोपबहादुर रायमाझीका छोरा), रामशरण के.सी., टंक कुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका छन् । उनीहरू विरुद्ध लगाइएको अभियोगमा पर्याप्त तथ्यगत आधार नदेखिएको फैसलामा उल्लेख छ ।

























