
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरबीच प्रहरी कर्मचारी, पूर्वप्रहरी, अमर प्रहरीका आश्रित तथा उनीहरूका परिवारलाई उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधबार आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे र अस्पतालका निर्देशक प्राध्यापक डा. अशोक कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने सबै उपचार सेवामा २५ प्रतिशत छुट प्रदान गरिनेछ ।
कार्यक्रममा डा. कोइरालाले नागरिक सुरक्षामा अग्रपंक्तिमा खटिने प्रहरी र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न अस्पताल प्रतिबद्ध रहेको बताए । डीआईजी घिमिरेले उक्त सहुलियतका लागि अस्पतालप्रति आभार व्यक्त गर्दै यसले प्रहरी कर्मचारी तथा परिवारलाई उपचारमा उल्लेखनीय राहत पुग्ने विश्वास व्यक्त गरे ।
सम्झौता कार्यक्रममा एसएसपी योगेन्द्र सिंह थापा, अस्पतालका जनसम्पर्क अधिकृत नवीन दाहाल, एसपी नारायण चिमरियालगायतका प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो ।

























