सहकारी बचतकर्ताको पीडा कम हुँदै, तीन महिनामा साढे ४ करोड फिर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार १३:५५

काठमाडौं । सहकारी संस्थामा जम्मा गरेको जीवनभरको सञ्चय डुब्ने त्रासमा बाँचिरहेका हजारौं बचतकर्ताका लागि ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ले केही राहतको सन्देश दिएको छ ।

गत वैशाखदेखि असार मध्यसम्मको तीन महिनामा समितिले ४ करोड ४३ लाख ४८ हजार रूपैयाँ बराबरको बचत फिर्ता तथा मिलान गराउन सफल भएको छ । समितिकी निमित्त सदस्यसचिव भावना पोखरेलका अनुसार यस अवधिमा १७५४ जना बचतकर्ताले २ करोड ६३ लाख ९० हजार रूपैयाँ फिर्ता पाएका छन् । १४१ जनाको १ करोड ७९ लाख ५७ हजार रूपैयाँ मिलान भएको छ । यसका साथै १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार रूपैयाँ ऋण असुल गरिएको छ ।

महिनागत हेर्दा वैशाखमा २ करोड ७ लाख, जेठमा १ करोड २० लाख र असारको पहिलो १५ दिनमा ९४ लाख ९७ हजार रूपैयाँ दाखिला भएको तथ्यांकले देखाउँछ । सबैभन्दा बढी लाभ तुलसी बहुमुखी सहकारीका बचतकर्ताले पाएका छन् । जहाँ १५८ जनाले २ करोड ५३ हजार रूपैयाँ फिर्ता पाए ।

संख्याका हिसाबले भने शिव शिखर सहकारीका ८६९ जना सबैभन्दा बढी लाभान्वित भएका छन् । उनीहरुले ३२ लाख ६६ हजार रूपैयाँ पाए । यसैगरी लालीगुँरास, कान्तिपुर सेभिङ, कृषि विकास बहुउद्देश्यीय लगायत साना सहकारीका बचतकर्ताले पनि आआफ्नो हिस्सा फिर्ता पाएका छन् ।

हाल १० हजार रूपैयाँभन्दा कम रकमको मागदाबी प्राथमिकताका साथ फरफारक गरिँदै आएकोमा अब दोस्रो चरण सुरु हुने भएको छ । सदस्य रविन ढकालका अनुसार यसपटक ज्येष्ठ नागरिक, गम्भीर रोगी र एकल महिलालाई प्राथमिकतामा राखी बढीमा २५ हजार रूपैयाँसम्म र सोभन्दा कम रहेकालाई १२ हजार ५ सयसम्म फिर्ता दिने तयारी छ । समग्रमा कुल बचतको ५० प्रतिशतसम्म फिर्ता दिने लक्ष्य राखिएको छ ।

अर्कोतर्फ ठूला ऋणीहरूलाई कालोसूचीमा राख्ने, राहदानी रोक्का गर्ने र स्थानीय सेवासुविधामा प्रतिबन्ध लगाउने कार्ययोजना पनि अघि बढाइएको छ । विदेशमा रहेका ऋणीलाई ह्वाट्सएपमार्फत सम्पर्क गरी ताकेता गरिए पनि साना ऋणीको तुलनामा ठूला ऋणी भने अझै सम्पर्कमा नआएको समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.