कर्मयोगको प्रकाशमा दिगो समाज

मुलुकी खबर
तोमनाथ उप्रेती
clock२०८३ असार २७, शनिबार ११:१५
कर्मयोगको प्रकाशमा दिगो समाज

मानव जीवनको वास्तविक उद्देश्य मानवको आन्तरिक विकास र समाजको समग्र प्रगतिसँग जोडिएको हुन्छ। भागवद्गीताको प्रस्तुत कर्मयोगले यही सन्देश दिन्छ व्यक्ति आफ्नो कर्तव्यमा दृढ रहँदै, निःस्वार्थ भावमा कर्म गर्दा मात्र व्यक्तिगत सन्तोष र सामाजिक स्थायित्व सुनिश्चित गर्न सक्छ । आधुनिक समाजमा जहाँ प्रतिस्पर्धा, स्वार्थ, आर्थिक असमानता र सामाजिक द्वन्द्व गहिरिँदै गएको छ, त्यहाँ कर्मयोगका सिद्धान्तहरूले व्यक्तिलाई  आन्तरिक शान्ति दिने मात्र होइन, सामाजिक सुधारमा पनि योगदान पुर्‍याउँछन्।

दिगो समाज केवल विकासका सूचकांकहरूले मात्र निर्माण हुँदैन । यो चेतना, कर्तव्य, र नैतिक जिम्मेवारीको आधारमा उभिएको संरचना हो । जब व्यक्ति आफ्नो कर्मलाई केबल व्यक्तिगत लाभको साधन होइन, समाज र प्रकृतिप्रतिको उत्तरदायित्वका रूपमा बुझ्छ, तब त्यही सोच कर्मयोगको मूल भावना बन्छ ।

कर्मयोगले सिकाउँछ फलको आशामा होइन, कर्तव्यको शुद्धतामा कर्म गर । यो विचार आजको आधुनिक समाजमा झन् सान्दर्भिक छ । जहाँ प्रतिस्पर्धा, उपभोगवाद, र व्यक्तिगत स्वार्थले सामाजिक सम्बन्धलाई कमजोर बनाइरहेको छ । जब मानिस  ‘म के पाउँछु ?’ भन्ने सोचमा मात्र सीमित हुन्छ, तब समाज असन्तुलित बन्छ । तर जब सोच ‘म के योगदान दिन सक्छु ?’ भन्ने हुन्छ, तब समाज दिगो र सन्तुलित बन्छ ।

दिगो समाजको पहिलो आधार नै जिम्मेवार नागरिक हो । जिम्मेवार नागरिक भनेको आफ्नो काम इमानदारीपूर्वक गर्ने व्यक्ति हो चाहे त्यो किसान होस्, शिक्षक होस्, कर्मचारी होस् वा विद्यार्थी । कर्मयोगले यही शिक्षा दिन्छ कि हरेक काम पवित्र हो, यदि त्यो निष्ठा र सचेतता साथ गरिएको छ भने ।

आजको विश्व जलवायु परिवर्तन, सामाजिक असमानता र नैतिक संकटसँग जुधिरहेको छ । यी सबै समस्याको मूल कारण केवल प्रविधिको कमी होइन, बरु कर्तव्यवोधको कमी हो । जब मानिसले प्रकृतिलाई दोहनको स्रोत मात्र ठान्छ, तब वातावरण असन्तुलित हुन्छ। तर जब प्रकृतिलाई सहअस्तित्वको आधार मानिन्छ, तब दिगोपन सम्भव हुन्छ । कर्मयोग यही सहअस्तित्वको चेतना हो ।

कर्मयोगले व्यक्तिगत जीवनलाई पनि अनुशासित बनाउँछ। अनुशासन बिना दिगो विकास सम्भव छैन । जब व्यक्ति आफ्नो कर्तव्य समयमै, सही रूपमा र निष्ठापूर्वक पूरा गर्छ, तब त्यो व्यवहार सामाजिक संरचनामा पनि प्रतिबिम्बित हुन्छ । यसरी व्यक्तिगत अनुशासन सामूहिक स्थिरतामा रूपान्तरण हुन्छ ।

सामाजिक दृष्टिले हेर्दा, कर्मयोगले समानताको भावना विकास गर्छ । कुनै पनि काम सानो वा ठुलो हुँदैन । सबै कामको आफ्नै मूल्य हुन्छ। यही सोचले श्रमको सम्मान बढाउँछ र सामाजिक विभाजन घटाउँछ। जब श्रमको सम्मान हुन्छ, तब समाज न्यायपूर्ण बन्छ ।

कर्मयोगले अहंकार घटाउँछ। मानिसले बुझ्छ कि ऊ केवल कर्ता होइन, माध्यम पनि हो। यसले आत्म केन्द्रित सोचलाई घटाएर सेवा भाव बढाउँछ । सेवा भाव नै दिगो समाजको आत्मा हो ।

वेदान्त अनुसार, व्यक्ति  आफ्नो सुख र सफलता मात्र खोज्नु हुँदैन । उसले आफ्नो कर्ममार्फत समाज र मानवताको हित गर्नुपर्छ। आधुनिक समाजमा यो दृष्टान्त शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण र सामाजिक न्यायका क्षेत्रमा स्पष्ट देखिन्छ । उदाहरणका लागि, जलवायु परिवर्तनको चुनौतीमा युवा पुस्ताले स्वच्छ वातावरण र दिगो विकासका लागि गरेका पहलहरू कर्मयोगकै आधुनिक रूप हुन् । उनीहरूले व्यक्तिगत सुविधा वा आरामको सट्टा सामाजिक कल्याणका लागि सक्रिय भूमिका निर्वाह गरेका छन् । यसरी कर्मयोगले व्यक्तिगत नैतिकता र सामाजिक जिम्मेवारीलाई एउटै धारा मार्फत जोड्छ ।

कर्मयोगको आधुनिक आयाममा निःस्वार्थ सेवा अत्यन्त महत्त्वपूर्ण छ । आजको व्यस्त, प्रविधि निर्भर र प्रतिस्पर्धात्मक युगमा मानिस आफ्नो व्यक्तिगत समय, साधन र ऊर्जा समाजको हितमा लगाउने अवसर पाउँछ । स्वास्थ्यकर्मीले महामारीको समयमा अनगिन्ती जीवन बचाएका छन्, शिक्षकहरूले बालबालिकालाई गुणस्तरीय शिक्षा दिएका छन् र सामाजिक कार्यकर्ताहरूले गरिब, वञ्चित र पीडित वर्गको जीवन सुधार्न योगदान दिएका छन्, यी सबै कर्मयोगको प्रत्यक्ष अभ्यास हुन् । निःस्वार्थ कर्मले मात्र व्यक्तिलाई वास्तविक आत्मसन्तोष दिन्छ र समाजमा विश्वास, सहकार्य र स्थायित्व निर्माण हुन्छ ।

अठार अध्यायमा विभक्त भागवत गीतामा प्रत्येक अध्यायमा साधकले गर्ने कर्म तथा त्यसको फल स्पष्ट रूपमा व्याख्या गरिएको छ । प्रथमदेखि छैटौँ अध्यायसम्म कर्मयोग, सातौँदेखि बाह्रौँसम्म भक्ति योग र तेह्रौँदेखि अठारौँ अध्यायसम्म ज्ञान योगमार्फत साधकले आत्म चिन्तन र आत्म साक्षात्कारमा उन्नति पाउँछ । गीताले साधकलाई सिकाउँछ कि चित्त वृत्ति निरोधको अवस्थामा पुग्नुअघि भोग्नु पर्ने अनुशासन र त्यसपछि प्राप्त हुने फलका बारेमा स्पष्ट मार्गदर्शन दिन्छ । भक्ति योगमा कर्म र ज्ञान एकसाथ मिलेर साधकलाई परमात्माको अनन्त रूप दर्शन गराउँछ र आत्मज्ञान प्राप्त गराउँछ ।

कर्मयोग र सामाजिक धर्मबीच गहिरो सम्बन्ध छ । कर्म केवल भौतिक क्रिया मात्र होइन, यसले व्यक्तिगत नैतिकता र सामाजिक सुधारको मार्ग प्रदान गर्दछ । निष्काम कर्ममार्फत व्यक्ति आफ्नो स्वार्थभन्दा माथि उठेर धर्मअनुसार कार्य गर्दा समाजमा न्याय, सदाचार र समृद्धि स्थापना गर्न सहयोग पुग्छ। शिक्षक, चिकित्सक वा सामाजिक कार्यकर्ताहरूले आफ्नो कर्तव्य निष्काम भावमा पालन गर्दा व्यक्तिगत मात्र होइन, सामाजिक कल्याणमा पनि योगदान पुर्‍याउँछन् ।

व्यक्तिगत नैतिकता बिना सामाजिक सुधार असम्भव छ । आफ्नो इन्द्रिय र इच्छालाई नियन्त्रण गर्दै कर्ममार्ग अपनाउने व्यक्ति मात्र स्थायी परिवर्तन ल्याउन सक्छ । सामाजिक धर्मले समुदायको कल्याण, समानता र मानव अधिकारको संरक्षण सुनिश्चित गर्नुपर्छ । कर्मयोगले मानिसलाई स्वार्थ र लोभभन्दा माथि उठेर सामाजिक जिम्मेवारी बोध गराउँछ । जब कर्म निष्काम र धर्म परायण हुन्छ, तब व्यक्तिगत सुधारले स्वतः समाजमा सुधारको ढोका खोल्छ ।

गीतामा भनिएको छ कि चित्त स्थिर राखेर परमात्मामा लीन व्यक्ति धर्म–अधर्म, शुभ–अशुभ जस्ता भेदबाट मुक्त हुन्छ । यसले वास्तविक आनन्द र मोक्षको अनुभव गराउँछ । कर्मयोगले जीवनलाई भौतिक सुख–दुःखबाट मुक्त गर्दै आत्मिक आनन्द र स्थिरता दिन्छ । जब मानिस आफ्नो कर्म भगवानलाई अर्पण गर्दछ, तब भोग्ने सुख–दुःखलाई पनि आध्यात्मिक दृष्टिले अनुभव गर्न थाल्छ ।

मनुष्यले आफ्नो जीवनलाई भौतिक इच्छामा केन्द्रित राख्दा असन्तोष जन्माउँछ । निष्काम भावमा कर्म गर्दा, तत्त्वज्ञानको अनुभव गर्दै, भगवानको स्मरण गर्दा वास्तविक मोक्ष प्राप्त हुन्छ । जन्म–मरण, सुख–दुःख, समृद्धि–अभाव—सांसारिक नियमको हिस्सा मात्र हुन् । जीवनमा आउने उतार–चढावले मानसिक शान्तिमा बाधा पुर्‍याउन सक्दैन यदि हामी कर्मयोग अपनाउँछौँ।

जीवनलाई भय, मोह र आशक्तिबाट मुक्त गर्दै निष्काम भावमा कर्म गर्नु, व्यक्तिगत नैतिकता र सामाजिक धर्मको अभ्यास गर्नु र ज्ञान मार्गबाट समाजमा योगदान पुर्‍याउनु । यसले नागरिक चेतना, नैतिक संस्कार र सामाजिक सुधारमा सहयोग पुराउँछ। गीताको ज्ञानले मानव हृदयका सद्गुण जागृत गर्दै जीवनलाई सुखी, शान्त र समृद्ध बनाउँछ।

व्यक्तिगत नैतिकता र सामाजिक सुधारबीचको सन्तुलन पनि कर्मयोगले सिकाउँछ ।  बाह्य प्रगति र प्रतिस्पर्धामा अडिग रहने व्यक्ति आन्तरिक सन्तोष र शान्ति पाउँदैन । यसको विपरीत  ध्यान, योग वा आत्म चिन्तनमा डुबेका व्यक्ति समाजसँगको सम्बन्धमा प्रभावकारी योगदान दिन सक्दैन । कर्मयोगले भन्छ, ‘योगस्थः कुरु कर्मामणि’—आत्म बोधमा स्थिर रहँदै कर्म गर्नु नै जीवनको सर्वोत्तम मार्ग हो । यस सन्दर्भमा, व्यक्ति आन्तरिक मूल्य, नैतिकता र उद्देश्यसँग सम्बद्ध रहँदा मात्र समाजमा दीर्घकालीन स्थायित्व र सुधार सम्भव हुन्छ ।

कर्तव्यपरायण जीवन र दिगो समाज बीचको सम्बन्ध स्पष्ट छ । जब व्यक्ति आफ्नो कर्मलाई धर्म, नैतिकता र मानव कल्याणसँग जोड्छ, तब उसले न  व्यक्तिगत शान्ति र सन्तोष पाउँछ, तर समाजमा स्थायित्व, न्याय र समानताको वातावरण पनि निर्माण हुन्छ। कर्मयोगका आधुनिक आयामहरूले यही सन्देश दिन्छन्—आधुनिक समाजको जटिल चुनौतीहरू सामना गर्न, व्यक्तिगत नैतिकता र सामाजिक उत्तरदायित्वको मेल अपरिहार्य छ। यो मेलले मात्र मानवता र समाजलाई दिगो, न्यायपूर्ण र शान्तिपूर्ण बनाउँछ।

आजको डिजिटल युगमा मानिसहरू छिटो परिणाम चाहन्छन्, तर कर्मयोगले धैर्य सिकाउँछ। धैर्य बिना दिगो निर्माण सम्भव छैन । कुनै पनि सामाजिक परिवर्तन दीर्घकालीन प्रक्रिया हो, जसमा निरन्तर प्रयास आवश्यक हुन्छ। यदि व्यक्ति, समुदाय र राज्यले कर्मयोगको सिद्धान्त अपनाउने हो भने समाज केवल समृद्ध मात्र होइन, सन्तुलित, नैतिक र दिगो पनि बन्न सक्छ। यसैले भन्न सकिन्छ कर्मयोगको प्रकाशमा दिगो समाज निर्माण कुनै आदर्श सपना होइन, बरु सम्भव र व्यवहारिक मार्ग हो, जसले मानवता, प्रकृति र भविष्यलाई एउटै सूत्रमा बाँध्छ।

(लेखक: कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.