महिला उद्यमीका लागि वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार ०९:३६
 महिला उद्यमीका लागि वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ 

विराटनगर । महिला उद्यमीहरूको वित्तीय साक्षरतामा अभिवृद्धि गर्दै डिजिटल वित्तीय सेवामा पहुँच विस्तार गर्ने र उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले विराटनगरमा एक दिवसीय ‘वित्तीय साक्षरता तालिम’ सम्पन्न भएको छ ।

मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रुति शर्मा र ई–सेवा लिमिटेडका प्रमुख ट्रान्सफर्मेसन अफिसर सुमन खरेलको सभापतित्व आयोजित उक्त कार्यक्रममा नेपालस्थित स्विजरल्याण्ड दूतावासका प्रथम सचिव शिलशिल रिभोइर प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले डिजिटल अर्थतन्त्रको विकाससँगै उद्यमीहरूका लागि डिजिटल साक्षरता अपरिहार्य बनेको बताए । उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै व्यवसायलाई थप प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सहभागीहरूलाई आग्रह गरे ।  साथै, उनले ई–सेवालाई आफ्ना सेवाहरू अझ सहज र सुरक्षित बनाउन सुझाव दिँदै डिजिटल वित्तीय विस्तारले उद्यमशीलता विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

ई–सेवाका प्रमुख ट्रान्सफर्मेसन अफिसर सुमन खरेलले वित्तीय समावेशीकरणलाई सुदृढ बनाउन निजी क्षेत्र र सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘डिजिटल युगमा महिला उद्यमीहरूका लागि वित्तीय ज्ञान र डिजिटल सेवाको प्रभावकारी उपयोग अनिवार्य भइसकेको छ । ई–सेवामार्फत उपलब्ध डिजिटल सेवाहरूले व्यवसाय सञ्चालनलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।’

तालिम सत्रमा ई–सेवाका प्रदेश इन्चार्ज झलक सुब्बाले वित्तीय साक्षरताको महत्त्व, डिजिटल सेवाको सुरक्षित प्रयोग र बचत तथा लगानी संस्कृतिको विकासबारे प्रकाश पारे ।

तालिममा विशेष गरी महिला उद्यमीहरूलाई वित्तीय व्यवस्थापन, डिजिटल भुक्तानी प्रणाली, सुरक्षित डिजिटल कारोबार, बैंक तथा वित्तीय संस्थाका सेवाहरू, डिजिटल वालेट, रेमिटेन्स, सामाजिक सुरक्षा कोष, र बिमा सेवाबारे प्रयोगात्मक जानकारी दिइएको थियो । साथै, डिजिटल कारोबारमा हुनसक्ने ठगी र साइबर जोखिमबाट बच्ने उपायहरू र साना तथा मझौला उद्योगका लागि सम्भावित लगानीका क्षेत्रबारे समेत छलफल गरिएको थियो ।

कार्यक्रममा संयोजक शर्माले तालिमले महिला उद्यमीहरूको निर्णय क्षमता र डिजिटल पहुँच बढाउन मद्दत पुग्ने बताइन् । उनले आगामी दिनमा पनि महिला उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

तालिममा विराटनगर महानगरपालिका, बुढीगंगा, ग्रामथान र कटहरी गाउँपालिकाका विभिन्न संघ–संस्था एवं समितिमा आबद्ध महिला उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.