कोशी जग्गा विवादको साझा बाटो : अस्पतालको हक र बिरामीको हित

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ असार २६, शुक्रबार १७:०९

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराउने प्रक्रिया अघि बढाएपछि त्यहाँ वर्षौंदेखि सञ्चालनमा रहेका नेपाल क्षयरोग निवारण संस्था र नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित ब्लड बैंकको भविष्यका बारेमा चासो बढेको छ ।

अस्पतालले आफ्ना अत्यावश्यक स्वास्थ्य सेवा विस्तार गर्न जग्गा आवश्यक भएको जनाएको छ । तर, यी दुवै संस्थाले दैनिक रूपमा जीवनरक्षक सेवा दिइरहेकाले वैकल्पिक व्यवस्था नगरी हटाउन नहुने आवाज पनि उठिरहेको छ ।

कोशी अस्पतालको नाममा रहेको ५ विघा ८ कट्ठा जग्गामध्ये करिब १५ कट्ठाभन्दा बढी जग्गा विभिन्न संघ संस्थाले प्रयोग गर्दै आएका छन् । कोशी अस्पतालको स्वामित्वको जग्गामा हाल गणेश मन्दिर, देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी र नेपाल क्षयरोग निवारण संस्थाका पक्की संरचनाहरू छन् ।

अस्पतालका अनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर र रेडक्रसले २ कट्ठाभन्दा बढी जग्गा उपयोग गरिरहेका छन् । यी संस्थाले अस्पतालको जग्गामा स्थायी भवन निर्माण गरी केही भाग व्यापारिक प्रयोजनका लागि भाडामा दिएका छन् । त्यसबाट मासिक लाखौं रुपैयाँ आम्दानी भए पनि अस्पतालले कुनै आम्दानी पाएको छैन ।

यसअघि २०७७ सालमा उच्च अदालत विराटनगरले उक्त जग्गा कोशी अस्पतालकै भएको फैसला गरिसकेको छ । कोशी अस्पतालको स्वामित्वको जग्गामा हाल गणेश मन्दिर, देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी र नेपाल क्षयरोग निवारण संस्थाका पक्की संरचनाहरू छन् ।

अस्पतालले अहिले आफ्नो जग्गाको चारकिल्ला यकिन गर्न नापी कार्यालय विराटनगरलाई पत्राचार गरेको छ । अस्पताल प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट चन्द्रभाल झाका अनुसार विभिन्न संस्थाले प्रयोग गरिरहेको जग्गाका कारण अस्पतालले एमआरआई, एनआईसीयू लगायतका आवश्यक सेवा विस्तार गर्न सकेको छैन । नापी कार्यालयले रेखांकन गरेपछि कानुनी प्रक्रियाअनुसार जग्गा फिर्ता ल्याउने काम अघि बढाइने उनले बताए ।

यता अस्पताल विकास समितिका पूर्वसदस्य मुकेश बुढाथोकीले अस्पतालको अधिकार सुनिश्चित हुनुपर्ने भए पनि ब्लड बैंक र क्षयरोग निवारण संस्था जस्ता संवेदनशील सेवालाई तत्काल हटाउन नहुने बताए । उनका अनुसार क्षयरोग निवारण संस्थाले मासिक करिब १ लाख ७५ हजार रुपैयाँ र रेडक्रसले करिब १ लाख ५० हजार रुपैयाँ भवन भाडाबाट आम्दानी गरिरहेका छन् ।

वैकल्पिक स्थानको व्यवस्था नभएसम्म यही रकम अस्पताललाई भाडाका रूपमा बुझाउने व्यवस्था गर्न सकिने उनको विचार छ । त्यसपछि सरकारले उपयुक्त स्थान उपलब्ध गराएपछि दुवै संस्थाले अस्पतालको जग्गा खाली गर्नुपर्ने बुढाथोकीको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाका सभापति सुकदेवप्रसाद मण्डलले रक्तसञ्चार सेवा कुनै पनि अवस्थामा रोकिन नहुने बताए । उनका अनुसार यस केन्द्रबाट दैनिक १०० भन्दा बढी बिरामीले रगत तथा रक्ततत्त्व सेवा लिइरहेका छन् । दुर्घटना, प्रसूति, शल्यक्रिया, क्यान्सर, थालासेमिया र रक्तअल्पताका बिरामीका लागि आवश्यक रगत यही केन्द्रबाट उपलब्ध हुँदै आएको छ ।

उनले भवनको स्वामित्वको विषय कानुनी रूपमा समाधान गर्न सकिने भए पनि त्यसका कारण बिरामीले समयमा रगत नपाउने अवस्था आउन नहुनेमा जोड दिएका छन् । नेपाल क्षयरोग निवारण संस्थाका कार्यवाहक सभापति भैरव क्षेत्रीका अनुसार संस्थाले प्रत्येक वर्ष करिब १० हजार शंकास्पद बिरामीको परीक्षण गर्छ । तीमध्ये करिब १ हजार ३ सय जनामा क्षयरोग पुष्टि हुने गरेको छ । उनका अनुसार कोशी प्रदेशका क्षयरोग बिरामीमध्ये करिब ३० प्रतिशत बिरामीको रोग पहिचान र उपचार यही केन्द्रबाट भइरहेको छ ।

क्षयरोग सरुवा रोग भएकाले उपचारमा अवरोध आए बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्ने र औषधिले समेत सजिलै काम नगर्ने एमडीआर–टीबी जस्ता जटिल समस्या बढ्न सक्ने उनले बताए । कोशी अस्पतालले आफ्नो कानुनी स्वामित्वको जग्गा उपयोग गर्न पाउनु स्वाभाविक अधिकार भएको सरोकारवाला बताउँछन् ।

तर, त्यही जग्गामा सञ्चालन भइरहेका ब्लड बैंक र क्षयरोग निवारण संस्थाले हजारौं बिरामीलाई अत्यावश्यक सेवा दिइरहेका छन् । त्यसैले यी सेवामा कुनै अवरोध नआउने गरी सम्बन्धित निकायले ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ ।

त्यतिन्जेलका लागि अस्पताललाई उचित भाडा बुझाउने व्यवस्था लागू गर्ने र वैकल्पिक स्थान तयार भएपछि सम्बन्धित संस्थालाई स्थानान्तरण गर्ने उपाय नै सबै पक्षका लागि सन्तुलित र व्यवहारिक समाधान हुन सक्ने उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.