नेपाली कांग्रेस कोशी सरकारबाट बाहिरिने सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ०७:०६

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट आज (शुक्रबार) बाहिरिने सम्भावना छ । कांग्रेसले यस विषयमा अन्तिम निर्णय शुक्रबार हुने जनाएको छ ।

नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने पार्टीको केन्द्रीय निर्णयपछि कोशीमा पनि सरकारबाट कांग्रेस बाहिरिने सम्भावना बढेको हो । प्रदेशको विशिष्ट संवैधानिक अवस्थालाई मध्यनजर गर्दै कांग्रेसले तत्काल निर्णय नगरी बिहीबार ‘पर्ख र हेर’को रणनीति अपनाएको थियो ।

बिहीबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले सरकारबाट तत्काल बाहिरिने निर्णय नगरी शुक्रबारसम्म पर्खने निष्कर्ष निकालेको थियो । प्रदेश संसदीय दलका नेता उद्धव थापालाई राजनीतिक परिस्थिति विश्लेषण गर्दै अन्तिम निर्णय गर्ने अधिकारसमेत दिइएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले कोशी प्रदेशमा अहिले संविधानको धारा १६८ (५) अनुसार सरकार गठन भएकाले यहाँको राजनीतिक अवस्था अन्य प्रदेशभन्दा फरक रहेको बताए । उनका अनुसार यही कारण तत्काल मन्त्रीहरूलाई फिर्ता नबोलाई परिस्थितिको मूल्यांकनपछि निर्णय गर्ने तयारी गरिएको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले बुधबार सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो । तर, कोशी प्रदेशमा केन्द्रको आधिकारिक परिपत्र प्राप्त हुन बाँकी रहेको र एमालेसँगको सहकार्य अन्त्य गरेपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग नयाँ राजनीतिक समीकरण बन्ने सम्भावनाका बारेमा पनि छलफल भइरहेकाले निर्णयमा केही ढिलाइ भएको स्रोतको भनाइ छ ।

हाल कोशी प्रदेश सरकारमा कांग्रेसका पाँच जना मन्त्री सहभागी छन् । प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री एवं शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री छन् । कांग्रेसले शुक्रबार गर्ने निर्णयले कोशी प्रदेशको सत्ता समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने छ । एमालेसँगको सहकार्य औपचारिक रूपमा अन्त्य भए सरकारको भविष्य र नयाँ राजनीतिक समीकरणका बारेमा स्पष्ट हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.