कोलकाता–विराटनगर कार्गो रेल सुरु : ढुवानी लागत ४० प्रतिशत घट्ने, निजी क्षेत्र उत्साहित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार १९:२३

विराटनगर । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत भारतको कोलकाता बन्दरगाहबाट पहिलो पटक व्यावसायिक कार्गो रेल विराटनगर आइपुगेको छ । शुक्रबार कोलकाताबाट छुटेको कार्गो रेल सोमबार दिउँसो विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा आइपुगेको हो ।

नियमित सेवाका रूपमा आएको यस रेलले मोरङ–सुनसरी औद्योगिक करिडोरको ‘स्वस्तिक आयल इन्डस्ट्रिज’का लागि तेस्रो मुलुकबाट आयातित कच्चा पदार्थ बोकेको छ । सडक मार्गको तुलनामा रेलबाट ढुवानी गर्दा लागत ४० प्रतिशतसम्म घट्ने र जोखिम पनि कम हुने भएपछि पूर्वका उद्योगी व्यवसायीहरू उत्साहित भएका छन् ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार कार्गो रेल सञ्चालन हुनु निजी क्षेत्रको ठुलो सफलता हो । ‘सडकबाट आउँदा भोग्नुपर्ने सास्ती, चोरी र दुर्घटनाको जोखिम अब अन्त्य हुनेछ,’ उनले भने, “यसले वस्तुको लागत घटाउँछ र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत पुग्छ ।’

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले ट्रकबाट सामान ल्याउँदा ५ देखि ७ दिन लाग्नेमा रेलबाट ३ दिनमै आइपुगेको बताए । उनले अब सिपिङ लाइनहरूले विराटनगरमै कार्यालय खोलेमा यहाँबाट हुने निर्यातसमेत सस्तो र छिटो हुने उल्लेख गरे ।

‘ट्रकमा कोलकाताबाट सामान ल्याउन ५ देखि ७ दिन लाग्थ्यो, बर्खामा त झन् बढी समय लाग्थ्यो । तर रेलबाट ३ दिनमै सामान आइपुग्यो,’ उनले भने,‘ यो धेरै खुसीको कुरा हो । अब सिपिङ लाइनहरूले विराटनगरमै आफ्नो कार्यालय खोलेर कन्टेनर यहीँ उपलब्ध गराउनुपर्छ, जसले गर्दा यहाँबाट हुने निर्यात पनि निकै सस्तो र छिटो हुनेछ । अन्य क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्छौं ।’

लामो समयदेखि नीतिगत र कानुनी जटिलताका कारण रोकिएको यो सेवा दुवै देशको समन्वयपछि नियमित भएको हो । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पहिले क्लिंकर, कोइला जस्ता वस्तु मात्र आउने गरेकोमा अब सबै प्रकारका कच्चा पदार्थ ल्याउन बाटो खुलेको बताए । रेलमा ट्र्याकिङ सिस्टम हुने भएकाले सामान सुरक्षित र भरपर्दो रहने उनको भनाइ छ ।

‘रेलमा ट्र्याकिङ सिस्टम हुने भएकाले सामान कहाँ पुग्यो भनेर मोबाइलबाटै हेर्न सकिन्छ, यसले सुरक्षित र भरपर्दो हुन्छ,’ उनले भने,‘ सुनसरी– मोरङ करिडोरका उद्योगलाई एकदम सहज हुन्छ । हामी बजारसँग प्रतिस्पर्धा गर्न सक्छौं ।’

२०८० जेठमा कार्गाेकाे परीक्षण गरिए पनि नीतिगत गाँठोका कारण सेवा रोकिएको थियो । अब यो सेवा नियमित भएमा ढुवानी खर्चमा हुने भारी कटौतीले उपभोक्तालाई समेत राहत पुग्ने निजी क्षेत्रको विश्वास छ ।

शुक्रबार कोलकातामा नेपाली महावाणिज्यदूत र भारतीय अधिकारीहरूले हरियो झण्डा देखाएर रेल बिदाइ गरेका थिए भने विराटनगरमा भन्सार कर्मचारी र व्यवसायीले यसको स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×