
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा लुटपाट तथा चोरीका घटनामा संलग्न रहेको आरोप लागेका एक जना प्रहरीको गोली लागेर घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा उनले आफूसँग रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि आत्मरक्षाका लागि तीन राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
गोली तामाङको खुट्टामा लागेको र उनी घाइते भएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । घाइते तामाङको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीले तामाङ चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा खोजी सूचीमा रहेको जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















