पाँचथरमा रेबिजको महामारी: सामुदायिक कुकुरको टोकाइबाट १५ पशुको मृत्यु 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ०७:४५
पाँचथरमा रेबिजको महामारी: सामुदायिक कुकुरको टोकाइबाट १५ पशुको मृत्यु 

पाँचथर । पाँचथरका विभिन्न स्थानीय तहमा रेबिज रोगको महामारी फैलिएको छ । सामुदायिक  कुकुरको टोकाइबाट फाल्गुनन्द गाउँपालिका, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकामा पशु चौपाया धमाधम मर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

फाल्गुनन्द गाउँपालिकामा मात्रै पछिल्लो तीन दिनमा १५ वटा पशु चौपायाको मृत्यु भइसकेको छ । फाल्गुनन्द–६ मा लोकबहादुर आङदेम्बे, महेन्द्रकुमार नेम्वाङ, डिकिन नेम्वाङ, जयवीर राई, अभिन्द्र नेम्वाङ लगायतका किसानका गाई, गोरु, राँगा, भैँसी र बाख्रा मरेका छन् । यस्तै, वडा नम्बर २ इम्बुङमा पनि ५ वटा पशुको मृत्यु भएको छ ।

Advertisement

पशु सेवा शाखाका अनुसार एउटा भैँसीको मूल्य करिब १ लाख ५० हजार र गाईको १ लाख रुपैयाँसम्म पर्ने भएकाले किसानहरूले ठुलो आर्थिक क्षति बेहोर्नु परेको छ ।

फाल्गुनन्द गाउँपालिकाका १, २, ५, ६ र ७ नम्बर वडालाई उच्च जोखिम क्षेत्र घोषणा गरिएको छ । पशु सेवा शाखाका प्राविधिक गोपाल घिमिरेका अनुसार हालसम्म ५६ वटा पशु चौपायामा रेबिजको लक्षण देखिएको छ । वडा नम्बर ६ को मेहेलबोटे क्षेत्रमा मात्रै ३ वटा गाई भैँसी र ७ जना मानिसलाई कुकुरले टोकेको छ । त्यस्तै, वडा नम्बर ७ को आङसराङमा ३ राँगा र ७ बाख्रालाई सङ्क्रमित कुकुरले टोकेको पुष्टि भएको छ ।

वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद आङदेम्बेले भने, ‘बस्तीभित्र पुगेका सामुदायिक कुकुरले पशु र मानिसलाई टोकेका छन्, यो संख्या अझै बढ्न सक्छ । हामीले निगरानी बढाइरहेका छौँ ।’

यसैबीच, फिदिम बजारमा शनिबार साँझ आतंक मच्चाउने एउटा सामुदायिक कुकुरमा पनि रेबिज पुष्टि भएको छ । उक्त कुकुरले एक घण्टाको अवधिमा ४० वटा अन्य कुकुर, एक बालिका र एउटा भैँसीलाई टोकेको थियो । नगरपालिकाले नियन्त्रणमा लिएपछि सो कुकुरको मृत्यु भएको र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र फिदिमले गरेको परीक्षणमा रेबिज सङ्क्रमण पुष्टि भएको निमित्त प्रमुख निरजकुमार भट्टराईले जानकारी दिए ।
हिलिहाङ गाउँपालिकामा पनि निगरानीमा राखिएको खसी–बोकाको मृत्यु भएपछि गरिएको परीक्षणमा रेबिज भेटिएको छ ।

सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि स्थानीय तह र पशु सेवा विज्ञ केन्द्रले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । मरेका अधिकांश पशुहरूमा रेबिजको जीवाणु भेटिएको छ भने केहीको पिसिआर रिपोर्ट आउन बाँकी छ । फाल्गुनन्दको नवमी डाँडा, इम्बुङ, फाक्तेप, पिपलबोटे र मेहेलबोटे क्षेत्रलाई उच्च जोखिम क्षेत्र तोकिएको छ ।

पशुमा र्‍याल काढ्ने, झोक्राउने वा असामान्य व्यवहार (रेबिजको लक्षण) देखिएमा तुरुन्त पशु सेवा शाखा वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पालिकाले आग्रह गरेको छ भने घरपालुवा कुकुर र पशु चौपायालाई जथाभाबी नछाड्न र अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लगाउन पशु धनीहरूलाई सचेत गराइएको छ ।

तपाइको प्रतिक्रिया
एमाले नेताहरु काठमाडौंतिर, यता मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान
सुस्ता अतिक्रमण : सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ: एमाले
मुख्यमन्त्री हेरफेर किचलो: योगेशले सोधे-‘साटसुट र शक्तिको भाषा किन ?’
कप्तानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, रवीन्द्रकुमार मेहताको पनि काठमाडौंमा मृत्यु
‘भूमिहीन र सुकुम्बासी व्यवस्थापनका नाममा रकम असुले कारबाही’
पहिरोले भासियो सडक
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङविरुद्ध क्यूआरटीले ‘भण्डाफोर अभियान’ चलाउने
विराटनगरको केशव धाममा १ जना मृत फेला
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 
बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.